वीरगंज महानगरपालिकाको सबैभन्दा पुरानो पिप्रा स्वास्थ्य चौकीमा बिगत ६ महिनादेखि औषधि अभाव भएको छ। वीरगन्ज महानगरको लापरवाहीले दैनिक आउने सामान्य विरामीहरू निःशुल्क पाउने औषधि पनि बाहिर महंगो शूल्क तिरेर खरिद गर्नुपर्ने बाध्यतामा छन्।
नेपाल सरकारले गरिब तथा दलित बिपन्न वर्गका लागि सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधि पाईने भनिए पनि स्थानीय तहको निर्वाचन पश्चात महानगरपालिकामा बारम्बार औषधि अभावको बारेमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको पिप्रा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको गुनासो छ ।
२०३० सालमा स्थापना भएको पिप्रा स्वास्थ्य चौकीमा प्रशूति सेवाबाहेक एन.सी सेवा, पि.एन.सी खोप कार्यक्रम, परिवार नियोजन तथा ईमरजेन्सी लगायतका सेवा निःशुल्क रुपमा दिँदै आएको छ। तर, वीरगन्ज महानगरको अधिनमा स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी आएपछि अहिले सामान्य पेट दुखाईको औषधिसमेत नपाएको पिप्रा-१४ का तपसी पासवानले गुनासो गरे।
वीरगन्ज राधेमाईका लोरीक महतोले वर्षायाममा छाला चिलाउने समस्या भएपछि औषधी लिन आउँदा औषधि नपाएको गुनासो गरे ।
सरकारी अस्पताल अथवा स्वास्थ्य चौकीमा निःशुल्क औषधि पाईने भए पछि गरिब जनाताहरु स्वास्थ्य चौकिमै आउने गर्छन्।
चैनपुरबाट आएका ७० वर्षीय बृद्ध रूदल पालको खुट्टामा घाउँ भएपछि उपचारका लागि आउँदा औषधि नपाएर निराश भए। ‘अब महंगो शूल्कमा औषधि किन्न म सँग पैसा पनि छैन,’ उनले दुखेसो पोखे।
पिप्रा स्वास्थ्य चौकी पुरानो स्वास्थ्य चौकि भएकोले यहाँ दिनहुँ आधा दर्जन भन्दा बढी वडाका बिरामीहरु आउने गर्छन् ।
सरकारले बर्थिङ्ग सेन्टर नभएको स्वास्थ्य चौकिमा स्वास्थ्य सेवा मार्फत आम नागरिकहरुलाई निः शुल्क रुप मैं ३६ प्रकारको औषधिहरु उपलब्ध गराउँदै आएको छ।
अहिले पिप्रा स्वास्थ्य चौकीमा २२ प्रकारका औषधिको कमी रहेको स्वास्थ्य चौकिमा कार्यरत कर्मचारीको भनाई छ।
स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गोरख प्रसाद पण्डितका अनुसार वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा लिखित रूपमैं औषधी माग गरेको ६ महिना भन्दा बढी समय वितिसके पनि अभाव भएको औषधि नपाइएको हो।
‘गर्मी मौसममा हुने रोगको औषधि र बालबालिकाको झोल औषधि नपाउँदा बढी समस्या भएको छ,’ उनले भने।
चेकजाँच गरेपछि औषधि नपाएका सेवाग्राहीले गाली गलौज गर्ने र आफूहरू गाली खाएर बस्नुपर्ने बाध्यता रहेको हेल्थ असीस्टेन्ट पण्डितको भनाई छ।
बिगत ४६ वर्षदेखि सेवा दिँदै आएको पिप्रा स्वास्थ्य चौकीमा पहिले दिनको १०० जना बिरामी पुग्ने गर्थे तर महानगरको लापरवाहीले गर्दा अहिले दिनको ४० जना जती बिरामी पुग्ने गरेका छन्। त्यसमा पनि औषधि नपाउँदा अवस्था झनै खस्किँदै गएको छ।
यस विषयमा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरूण महतोसँग बुझ्दा औषधि अभावको बारेमा आफूकहाँ कुनै जानकारी नआएको बताए।
स्वास्थ्य संस्थाहरुमा जनस्वास्थ्यको अधिकार कटौती भए पश्चात स्थानीय सरकारको मातहतमा सम्पूर्ण अधिकार गएपछि बजेट हुँदा हुँदै पनि गरिब जनताले औषधि नपाएर महंगो शूल्कमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ।