पर्साको पटेर्वा सुगौली गाउँपालिकाको रामभौरी भाठास्थित दुग्धेश्वरनाथ महादेवको मन्दिरमा सोमबार लागेको मेलामा मन्दिरको सिँढिको रेलिङ भत्किँदा १८ जना दर्शनार्थी घाइते भएका छन्।
घाईते मध्ये ३ जनाको अवश्था गम्भीर रहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
गम्भीर घाईते हुनेमा पर्साको धोवीनी गाउँपालिका वडा नं. ४ लंगडिका २९ वर्षिय सुनील मुखीया, उनकी श्रीमति अनीता देवी र भारत बिहार पश्चिमी चम्पारण कि गायत्रि देवी रहेका छन् ।
गम्भीर घाईते श्रीमान श्रीमति र भारतीय महिलाको अहिले वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेहरु स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि घर फर्केको पर्साका प्रहरी उपरीक्षक राठौरले बताए।
सोमबार बिहान ८ बजे सोमवारी जल चढाउने क्रममा मन्दिरमा श्रद्धालुहरुको भीड लाग्दा रेलिङ भत्किएर दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाको ऐतिहासिक मन्दिरको रुपमा रहेको दुग्धेश्वरब महादेवको मन्दिरमा पर्सा,बारा लगायत भारतको विहार, उत्तर प्रदेश र झारखण्ड राज्यबाट वर्षेनी लाखौ दर्शनार्थीहरु साउन महिनामा महादेवलाई जल चढाउन आउने गर्छन्।