‘ठूलो भएर के हुने ?’
डाक्टर ।
‘पढेर के बन्ने ?
डाक्टर ।
‘भविष्यको लक्ष्य के ?’
डाक्टर ।
जानेर होस् या नजानेर, नेपाली नानीबाबुले यसैगरी रटेझैं भन्छन्, ‘डाक्टर हुने ।’
प्रायःको पहिलो रोजाई हुन्छ- डाक्टर । त्यसपछि मात्रै, इञ्जिनियर, पाइलट, बैज्ञानिक, नेता, खेलाडी आदि इत्यादि ।
नानीबाबुको ‘डाक्टर हुने लक्ष्य’का पछाडि अभिभावकको हात हुन्छ । ‘सन्तानलाई ठूलो मान्छे बनाउने’ चाहना अभिव्यक्त भएको आभाष हुन्छ त्यहाँ ।
धेरैवटा अध्ययनले भन्छ, युरोप–अमेरिकातिरका बहुसंख्यक अभिभावकको चाहना पनि सानो छँदा सन्तानलाई उसैगरी डाक्टर, इन्जिनियर, पाइलटै बनाउने हुन्छ ।
नेपाली अभिभावक र नानीबाबुको को त डाक्टर–सपना ‘थेगो’ जस्तै भइसक्यो ।
नहोस् पनि किन र ?
कमाई र सम्मानका दृष्टिले संसारभर डाक्टर अगाडि छन् । अध्ययनले भन्छ– हिजो यही क्रम थियो, भोलि हुनेछ । हाइपेड जागिरमध्ये पहिलो नम्बरमा डाक्टर नै आउँछ । सम्मानित जागिरमध्येमा पहिलो डाक्टरी ।
अर्थात्, डाक्टर सदाबहार ।
तर, सन्तानलाई डाक्टरी–सपना देखाउन जति सजिलो छ, त्यो पूरा गराउन उत्तिकै मुस्किल ।
पैसा खर्च गर्नसक्ने अभिभावकसँग पढेर पार लगाउने सन्तान नहोलान् । तेज क्षमताका सन्तान भएका अभिभावकको आर्थिक अवस्था बलियो नहोला । पैसा खर्च गर्नसक्ने भए पनि कतिपयका सन्तानले डाक्टर हुने इच्छा पनि नराख्लान् ।
लक्ष्य, क्षमता र खर्चको संयोजन मिले पनि करिव १० बर्ष निरन्तर पढाई र अभ्यासमा समर्पित हुने मेधावी विद्यार्थी कति होलान् ?
पक्कै थोरै ।
तथ्यांकअनुसार, एक अर्ब ३७ करोड जनसंख्या भएको भारतमा समेत बर्षमा औसत ४५ देखि ५० हजार मात्र डाक्टर उत्पादन हुन्छन् ।
झण्डै तीन करोड जनसंख्या भएको नेपालमा बर्षमा औसत दुई हजार नयाँ डाक्टर थपिन्छन् ।
अहिले तीन करोड ७० लाख हाराहारी जनसंख्या रहेको क्यानडामा बर्षमा औसत तीन हजार डाक्टर थपिन्छन् ।
यी प्रसंग किन भने सानोमा ‘डाक्टर हुने’ भन्न जति सजिलो छ, वयस्कमा त्यो बनेर पार लगाउन उत्तिकै मुस्किल हुन्छ । तर, ‘लगे रहो...’ मान्यता अँगाल्दै अघि बढ्दा असम्भव भने छैन । उदाहरण नेपालीमूलका यी डाक्टर पनि हुन्, जो बर्षौंदेखि क्यानडामा कार्यरत छन् ।
हेनानदेखि मानिटोवा
क्यानडाको मानिटोवास्थित विनिपेग बस्छन्– डाक्टर सरोज निरौला । उनी ‘क्यान्सरविज्ञ’ (अंकोलोजिष्ट) हुन् । मेडिकल अंकोलोजिष्टको भूमिकामा त्यहाँका ‘क्यान्सर केयर’ र ‘युनिभर्सिटी अफ् मानिटोवा’मा कार्यरत छन् उनी ।
सन् २००९ मा उनी परिवारसहित क्यानडा आएका हुन् ।
प्रोभिन्स सरकार मातहत अरु दुई जिम्मेवार निकायमा प्रमुख भई मानिटोवामा क्यान्सर, यसको रोकथाम र औषधि अन्वेषण आदिबारे निरौला आफ्नो ज्ञान र अनुभव सदुपयोग गर्दैछन् ।
‘त्यत्तिकै यहाँ यो जिम्मेवारी पाएको हुइनँ, यसका पछि संघर्षको लामो कथा छ’ चीनको ग्वानझाओबाट एमबिबिए
स सकेर काठमाडौं हुँदै टोरन्टोसम्म मेडिकल अभ्यास गरेका निरौलाले सुनाए, ‘लगातारको पढाई, अभ्यास र संघर्षले सफलता मिलेको हो ।’
पुर्खौली थलो सोलुखुम्बु भए पनि बुवा सरकारी नोकरीमा भएकाले निरौला काठमाण्डूमा जन्मेका हुन् । जागिरे बुवासँगै धेरै जिल्ला घुमेर बाल्यकालको पढाइ पूरा गरेका उनले २०५० सालमा बिराटनगरको ‘बीकेभिएम स्कुल’बाट एसएलसी गरेका हुन् ।
धुलिखेलको ‘काठमाडौं युनिभर्सिटी’बाट आइएस्सी सकेपछि बाल्यकालदेखिको ‘डाक्टर बन्ने’ सपना पूरा गर्न उनी चीन गएका हुन् । पुगेपछि हेनान प्रान्तमा चिनियाँ भाषा सिक्न एक बर्ष बिताए । अरु सात बर्ष चाहिँ ग्वानझाओको ‘सनयात्सेन युनिभर्सिटी’मा ।
यो पनि पढ्नुहोस्
क्यानडामा नेपालीमूलका नाइटिंगेल (भिडियोसहित)
‘चीनमा जम्मा आठ बर्ष पढेर नेपालमा डेढ बर्ष अभ्यास गरे पनि क्यानडा आएर फेरि फरक फरक तीनवटा परीक्षा पास गरेपछि मात्र मेडिकल फिजिसियनको लाइसेन्स लिन सफल भइयो’ निरौलाले सुरुवाती दिनका संघर्ष सुनाए, ‘त्यसपछि आफ्नो बिधामा दैनन्दिन अपडेट हुँदै प्रतिस्पर्धीलाई उछिनेर यो ठाउँमा पुगेको हुँ ।’
खानपान, दैनिकी र रहनसहन फरक भए पनि मानव शरीर एकै प्रकृतिको हुने भएकाले क्यान्सरको प्रकृति पनि सबैतिर उस्तै हुने उनको अनुभव छ ।
‘चीनमा पढेर नेपालमा अभ्यास गरें तर क्यानडाका बिरामी चेक जाँच गरेर औषधि दिनुपर्छ’ मेडिकल साइन्समा अनौठा अनौठा अनुभव गर्न पाइने उल्लेख गर्दै निरौलाले भने, ‘पहिले मान्छे थोरै बाँच्थे र क्यान्सरको संक्रमणमा पर्नै पाइदैनथिए, आजकल लामो बाँच्छन् र जीवनको उत्तरार्द्धतिर क्यान्सरको चपेटामा पर्छन् ।’
क्यान्सरको संक्रमण केही बढेको र मानिसको आयु पनि लम्बिएकाले यसको असर बढी देखिएको निरौला बताउँछन् । पढ्दापढ्दै र अभ्यास गर्दागर्दै जीवनका उर्वर उमेर बिताएका उनी आफ्नो पेशाप्रति सन्तुष्ट छन् ।
‘पेशामा सन्तुष्टि, सम्मान र जिम्मेवारी चित्तबुझ्दा छन्’ डाक्टरी पेशाका राम्रा नराम्रा पक्षबारे निरौला भन्छन्, ‘हाइ डेडिकेशन हुनुपर्ने र सबैजसो जिम्मेवारी आफैं लिनुपर्ने पक्षले चाहिँ कहिलेकाहिँ गाह्रो बनाउँछ ।’
आमाको सपना पूरा
‘म के खुशी भएँ र, आमा पो नाच्दै उफ्रिनुभो’ प्रफुल्ल हुँदै उनले सुनाइन्, ‘त्यो दिन मेरा लागि औधी खुशीको क्षण थियो ।’
ज्ञानेश्वर, काठमाडौंमा जन्मेकी इरा शर्मा चालिसेको संघर्षपछि सफलता मिलेको दिनको प्रसंग हो यो ।
आगामी सेप्टेम्बरदेखि उनी क्यानडाको मानिटोवा प्रोभिन्सस्थित ‘हेमिवोटा हेल्थ सेन्टर’मा जनरल फिजिसियनका रुपमा काम गर्दैछिन् । ‘प्रेरी माउण्टेन हेल्थ रिजन’अन्तर्गत उक्त सेन्टरमा सेवा दिने डाक्टरका रुपमा छनौट भएको कुरा सुनाउँदा आमाले असाध्यै प्रसन्नता व्यक्त गरेको इराले सुनाइन् ।
‘आमाकै चाहनाले प्रभावित भएर मैले मेडिकल साइन्स पढेकी थिएँ’ तालिम सकेर क्यानडामा डाक्टरका रुपमा सेवा दिने दिनको पखाईमा रहेकी इराले सुनाइन्, ‘सन्तानको सफलतामा आमाबुवाले व्यक्त गर्ने खुशी बडो अचम्मको हुँदोरहेछ ।’
छोरीलाई क्यानडामा पनि डाक्टरै भएको देख्ने आमाको धोको हुनुमा गहिरो कारण छ ।
इराका जेठा दाइ आलोकराज चालिसे पनि नेपालमा डाक्टर थिए कुनैबेला । तर, सन् १९९६ मा अमेरिका आएको डेढ महिना नबित्दै कार दुर्घटनामा दिबंगत भए । त्यो घटनाको चोट बिर्सन नसक्दा छोराको डाक्टरी रुप छोरीमा देखिराख्न चाहेकी हुन् आमाले ।
२०४३ सालमा ज्ञानेश्वरकै ‘महेन्द्र भवन गर्ल्स हाइस्कुल’बाट एसएलसी गर्दा ‘रत्न विद्यापदक’ पाएकी थिइन् इराले । किनकि, उच्च अंक ल्याई एसएलसी उत्तीर्ण गर्ने देशभरका उत्कृष्ठ तीन छात्रामा परेकी थिइन् उनी ।
आमाको चाहना र आफ्नो रहरले ‘डाक्टर हुने’ लक्ष्य राखेकी उनी अन्तत अमृत साइन्सबाट आइएस्सी सकेपछि बंगलादेश गइन् । त्यहाँको सिलेट मेडिकल कलेजमा पढिन् । एमबीबीएस सकेर अभ्यासका लागि उनी नेपाल होइन, पाकिस्तान गइन् । किनकि, डाक्टर पढ्न गएका पाकिस्तानी युवकसँग उनको विवाह भइसकेको थियो ।
यो पनि पढ्नुहोस्
नेपाली पुरूष क्यानडामा नर्स : पैसा र प्रतिष्ठा सँगसँगै
‘कराँचीका धेरैवटा हस्पिटलमा १२ बर्षसम्म काम गरेकी थिएँ’ महिला तथा प्रसुति रोगमा विज्ञता हासिल गरेकी इराले सुनाइन्, ‘पाकिस्तान हुँदा हामी दुबैजना एकै पेसामा थियौं, सधैंको सधैं व्यस्तको व्यस्त ।’
सन् २०१३ मा इरा दुई छोरा र श्रीमानसहित क्यानडा आएकी हुन् ।
क्यानडा आएको ५/६ बर्षसम्म संघर्षै संघर्ष गर्दा पनि उनले आफ्नो पेशामा सफलता पाइनन् । शैक्षिक योग्यता र चिकित्सा अनुभव लामो थियो तर क्यानेडियन लाइसेन्स र अनुभव थिएन ।
‘लाइसेन्स निकाल्न चरण चरणका परीक्षाले मात्रै पुगेन, नेपाल फर्केर फेरि ६ महिनासम्म तालिम र अभ्यास गर्नुपर्यो’ इराले संघर्ष सिलसिला सुनाइन्, ‘क्यानडा फर्केर दुई चार ठाउँमा स्वयंसेवा गर्दै बायोडाटा बलियो पारेपछि अहिले बल्ल सफलता पाउँदैछु ।’
केही पाउन छ भने सदैब प्रयास गरिरहनुपर्ने, संघर्ष गर्न छोडेर बीचमै बाटो बदल्न नहुने कुरा आफ्नै जीवनबाट सिकेको इराले बताइन् । ‘डाक्टरीबाहेक जानेको केही थिएन, क्यानडामा आउनेबित्तिकै सफल भइएन’ उनले संघर्षबारे अझ खुलाइन्, ‘तर एक दिन सफल हुन्छु भन्ने थियो र संघर्ष गर्ने साहस भइरह्यो ।’
अनुभवी अशोक
तनहुँ चन्द्रावतीमा जन्मेका अशोक क्षेत्री उमेरले जति अधवैंशे छन्, अनुभवका दृष्टिले भने त्योभन्दा बढी लाग्छन् । नेपालबाहेक उनले युक्रेन, बर्मा, थाइल्याण्ड, उज्वेकिस्तान र क्यानडामा मेडिकल डाक्टरका रुपमा अध्ययन, अनुसन्धान र काम गरेका छन् ।
२०५० सालमा काठमाडौंको ‘महामञ्जुश्री हाइअर सेकेण्डरी स्कुल’बाट एसएलसी गरेका हुन् अशोकले । परिवारमा कोही चिकित्सा क्षेत्रमा नभए पनि डाक्टर बन्ने धोको थियो उनको । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं परिवारबाट होस्टेमा हैंसे भइहाल्यो । एसएलसी सक्नासाथ डाक्टर–सपना पूरा गर्न युक्रेनतिर लागे उनी ।
‘एक बर्षसम्म रसियन भाषा र बेसिक साइन्स सिकेर युक्रेनमा एमबीबीएस पढें’ कोर्षको डिजाइनै लामो भएकाले सातबर्ष युक्रेन बसेको उल्लेख गर्दै अशोकले सुनाए, ‘नेपाल फर्केर वीर हस्पिटल र प्रसुति गृहमा डेढ बर्ष इर्न्टनसीप गरें ।’
नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स लिएपछि उनले एउटा फ्रेन्च आइएनजीओमा आवद्ध भई पोखरामा काम गरे ।
एचआइभी नियन्त्रणसम्बन्धी पोखरामा उक्त आइएनजीओबाट तीनबर्ष काम गरे अशोकले । बुवाआमा त्यसबेला क्यानडा टोरन्टो बस्दैथिए । यतै बस्ने र काम गर्ने सोचेर उनी पनि आए । तर, त्यो पहिलोपल्टको क्यानडा आगमन ६ महिनाभन्दा टिकेन ।
यहाँको चिकित्सा प्रणाली, डाक्टर जिम्मेवारी र बिरामीको उपचार पद्दतिबारे आधारभूत कुरा बुझेर नेपालै फर्किएँ ।
नेपाल छँदा विश्व स्वास्थ्य संगठन र पहिलेकै फ्रेन्च आइएनजीओमा आवद्ध भई दुईबर्ष काम गरे । बीचमा अभिभावक भेट्न क्यानडा आउजाउ चलिरह्यो ।
सन् २००९ देखि डेढ बर्ष बर्मामा एचआइभी नियन्क्रण कार्यत्रममा सहभागी भए । त्यसपछि टोरन्टो फर्केर क्यानेडियन मेडिकल काउन्सिलबाट लाइसेन्स लिने तयारी गरे । एक्लै त पढेँ पढेँ, बीएस्सी डाक्टरहरुको समूहमा जोडिएर पनि तयारी गरे ।
त्यत्तिकैमा एउटा लोभलाग्दो अवसर आयो, उज्वेकिस्तानमा काम गर्ने । त्यहाँ क्षयरोग नियन्त्रणसम्बन्धी काम गर्न फेरि टोरन्टो छोडे । लाइसेन्स परीक्षा दिएको थिएँ, तर असफल भएँ । उज्वेकिस्तानबाट क्यानडा फर्केपछि अशोक टोरन्टो होइन, सास्काचुन बस्न थाले । मेडिकल साइन्ससँग परिपूरक मानिने पब्लिक हेल्थमा मास्टर्स गर्न उनी सास्काचुन लागेका थिए ।
सन् २०१३ देखि दुईबर्ष पढेर पब्लिक हेल्थमा मास्टर्स सके । त्यसवीचमा थाइल्याण्ड गएर बर्मेली शरणार्थी क्याम्पमा झण्डै एक बर्ष काम गरे । सास्काचुनबाट उही फ्रेन्च आइएनजिओमा आवद्ध भई उनी थाइल्याण्ड पुगेका थिए । त्यहाँबाट फर्केपछि सन् २०१६ को सुरुदेखि उनी ‘सास्काचुन हेल्थ अथोरिटी’अन्तर्गत मेडिकल हेल्थ फिजिसियनका रुपमा कार्यरत छन् ।
‘पोलियो, हेपाटाइटिस, दादुराबिरुद्ध खोप कार्यक्रमको संयोजन गर्नेदेखि ट्राभल क्लिनिकसम्म चलाउने जिम्मेवारी छ’ अशोकले आफ्नो जिम्मेवारी सुनाए, ‘सरुवा रोग नियन्त्रणदेखि पब्लिक हेल्थअन्तर्गत होटल, रेष्टुराँ, स्वीमिङ पूलसम्मको चेक जाँच गर्न जनशक्ति परिचालन गर्नुपर्छ ।’
स्वस्थ समाज निर्माणमा डाक्टरको अहम् भूमिका हुने र आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्दा उत्तिकै सम्मान पाइने अशोकको अनुभव छ । बिरामीको दुःखमा साथी बन्नुपर्ने र बिरामी निको पार्न हमेशा हौसला दिनुपर्ने यो पेशालाई उनले जिम्मेवार र चुनौतिपूर्ण ठानेका छन् ।