६० परिवारलाई घर–घरमा पाइप लाइनबाट गोबरग्यास वितरण गरिँदै

एजेन्सी

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ। फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो।

कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ। त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको आवास, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका कर्मचारीका आवास, प्रयोगशाला, गेष्टहाउस, खाजाघरमा जडान गरिएको छ।

त्यहाँ चाहिने चुलो, लाइटर, सवमिटरसमेत खरीद गरिसकिएको छ। आचार्यले दुई महीनाभित्र परीक्षणका रूपमा ग्यास वितरण गरिने बताए। प्लान्टको ट्याङ्कीमा शुरुमा दुई लाख किलो गोबर आवश्यक पर्ने भएकाले केही दिन समय लागेको उहाँको भनाइ छ। फार्ममै रहेका गाईको गोबर सङ्कलन गरी ट्याङ्की भर्ने काम भइरहेको छ। ती गाईको दैनिक तीन हजार किलो गोबर सङ्कलन हुने गरेको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८० लाख र कार्यक्रमको रु ६५ लाख लागतमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो। यो सफल भएमा कार्यक्रमका अन्य सात ठाउँमा ग्यास उत्पादन गर्ने तयारी गरिएको छ। छ महीनासम्म परीक्षणका रूपमा निःशुल्क ग्यास वितरण गरिने भए पनि त्यसपश्चात सवमिटर हेरेर राजश्व असुल गरिनेछ। यसले राष्ट्रियरूपमा महत्व र सन्देश दिने भएकाले सरकारका उच्च अधिकारी निम्ता गरेर औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ। (रासस)

प्रकाशित मिति: : 2019-08-04 14:41:15

प्रतिकृया दिनुहोस्