अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती रकम माग गरी बेपत्ता एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका ३१ वर्षीय अरमान भनिने मोहम्मद तबरेज आलम ठकुराई छन्।
गत सोमबार बिहान ५ बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यही दिन बिहानदेखि बेपत्ता भएका थिए। भोलिपल्ट बिहान ८ बजे अरमानले आफ्नै मोबाइलबाट घरमा रहेकी दिदीलाई फोन गरेर आफू अपहरणमा परेको र फिरौती रकम नदिए आफूलाई अपहरणकारीले मार्ने धम्की दिएको भन्दै मोवाईलको स्वीच अफ गरी बेपत्ता भएका थिए।
पर्सा प्रहरीले घटनापछि उनको उद्दारका लागि खोजी तिब्र पारेको थियो। अपहरणको झुठो नाटक रचेर अरमान घरबाट भागी भरतपुर तथा भैरहवा लगायतको स्थानमा बस्दै आएको अवस्थामा विशेष सुराकीको आधारमा उनलाई प्रहरीले वीरगन्ज बाहिरशनिबार बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जनाए।
घर परिवारसँग पैसा असुल्न आफैंले अपहरण भएको नाटक गरी प्रहरीलाई बदनाम गर्न खोजेको र सुरक्षा व्यवस्थामा समेत खलल पुर्याएको हुँदा उनलाई सार्वजनिक मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक राठौरले बताए।