बाराको सिम्रौनगढ तनावग्रस्त,प्रहरीद्वारा अश्रुग्यास प्रहार

तस्बिरः बिएल

बारा । बाराको सिम्रौनगढमा उद्योग वाणिज्य संघको चुनावको विषयलाई लिएर शनिबार अपरान्ह दुई पक्ष बिच झडप हुँदा सिम्रौनगढ बजार तनावपूर्ण रह्यो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

उद्योग वाणिज्य संघको चुनावका लागि विधानमा दुई पटक अध्यक्ष भईसकेको व्यक्ति तेश्रो पटक अध्यक्षको उम्मेदवार हुन नपाउने व्यवस्था भए पनि हालका अध्यक्ष जयन्त कुशवाहाले आफू सर्वसम्मत रुपमा अध्यक्ष भएको दाबी गरेपछि स्थानीय व्यापारीहरु विरोधमा उत्रिँदा दुई पक्ष बिच झडप भएको थियो ।

विरोधमा उत्रिएका व्यापारीले बजार बन्द गराउँदै हिडन थालेपछि अपरान्ह ४ बजे सिम्रौनगढ बजार क्षेत्र तनावपूर्ण बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले बल प्रयोग गरी झडप नियन्त्रणमा लिएको बताए। झडपको क्रममा ५ जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक राठौरले जनाए ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय वारा तथा सशस्त्र प्रहरी वेश क्याम पिलुवाबाट ठूलो सख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। उत्पन्न तनाव अहिले साम्य  भएको राठौरले जानकारी दिए।

प्रकाशित मिति: : 2019-08-03 21:49:46

प्रतिकृया दिनुहोस्