केही दिनको नियमित वर्षाका कारण बस्तीभित्र पानी पस्दा शुक्रबार मोरङमा ३ सय ६५ परिवार प्रभावित बन्न पुगेका छन्।
प्रहरीका अनुसार वर्षाका कारण हालसम्म १ हजार ८ सयभन्दा बढी व्यक्ति बाढीका कारण प्रभावित बनेका छन्।
बिहीबार राति विभिन्न स्थानमा बाँध फुटेपछि खोलाको पानी बस्तीभित्र प्रवेश गरेको थियो। विराटनगर महानगरपालिका भित्र १ सय बढी परिवार विस्थापित भएको महानगरपालिकाले बताएको छ।
विराटनगर महानगरपालिका–६ रामपुरमा केसलिया खोलाको बाँध फुटेर बस्तीमा प्रवेश गरेको छ। यस्तै, विराटनगर–१२ बखरीमा सशस्त्र प्रहरीको बिओपी पोस्ट पनि डुबानमा परेको छ।
विराटनगर–६ रामपुरमा १०, विराटनगर–१२ बखरी र सिमराईमा ६० र विराटनगर–१६ दरैयामा ४० घर डुबानमा परेको प्रहरीले जानकारी दियो।
असार २६ मा परेको वर्षासँगै आएको बाढीले पनि यी वडा प्रभावित भएका थिए ।
यस अघि बाँध फुटेर बस्ती भित्र प्रवेश गरेको खोला पुनः प्रवेश गरेको जानकारी डुवान क्षेत्रमा पुगेका प्रदेश सांसद केदार कार्कीले बताए। कार्कीले भने, ‘तत्काल खोला नियन्त्रणको व्यवस्था नगरिए बस्ती जोगाउन गाह्रो पर्छ ।’
यस्तै चिसाङ खोलोमा आएको बाढी गाउँ पस्दा रंगेली नगरपालिका–८ मुसहर बस्तीका ५० घरपरिवार विस्थापित भएका छन्। मोरङकै सुनवर्षी नगरपालिका–५ मा बक्राहा खोलाको बाढी गाउँ पस्दा ५५ परिवार प्रभावित बनेका छन्। बाढी पसेर घरहरु डुबानमा परेपछि स्थानीय विस्थापित बनेको मेयर कालीप्रसाद दासले बताए।
उनले बाढीबाट स्थानीय पीडित भए पनि उद्धार र राहतमा कुनै कमजोरी हुन नदिइने बताए । त्यस्तै कटहरी गाउँपालिका–४ मा लोहन्द्रा खोलाको बाढी ‘ओभरफ्लो’ भएर गाउँ पस्दा डेढ सय परिवार विस्थापित बनेका छन्। गाउँपालिका प्रमुख रामकुमार कामतका अनुसार यस अघिको बाढीबाट पीडित बनेका दोस्रो पटक प्रभावित बन्न पुगेका हुन्।
जहदा गाउँपालिका–४ का देवानन्द साहको घरको एकातर्फको भाग बाढीले बगाएको छ। घर डुबानमा परेर पीडित भएकाको उद्धारका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्रका जवान परिचालन गरिएको थियो। प्रहरीले विस्थापित भएका परिवारलाई नजिकको विद्यालय, मन्दिर, सार्वजनिक स्थल, डुबानमा नपरेका छिमेकीको घरमा लगेर अस्थायी रुपमा सुरक्षित साथ राखेको छ।