डोल्पा । ठूलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आएकी छन्। उनले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँछिन्।
बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उनको भनाइ छ।
उनीजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च चलाउँदै आएको बताउँछिन्। चार छोराछोरीकी आमा उनी दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुने बताउँछिन्।
अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्षदेखि आरनको काम गर्दै आएका छन्। दुनैका अधिकांश होटलहरुमा पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाले बिक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।
घर नजिकैका विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ। सो भन्दा माथि यहाँका कुनै बालबालिकाले पढ्न नपाएको मन्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिए।
सुन्दर आधारभूत, मन्मा आधारभूत र महादेव आधारभूत गरी तीन विद्यालय छन। तर, विद्यार्थी भने कम हुँदा समस्या हुँदै आएको छ। मावि तह सञ्चालन नभएको सो बस्तीमा अर्थाभावका कारण यहाँका दलित समुदायका बालबालिका कक्षा ५ देखि माथि कसैले पढ्न नपाएको हमालले बताए।
दाउरा बोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिका विद्यालयमा समेत कम आउने गरेको उनको भनाइ छ । मन्मा आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजारका तीन बहिनी छन् । उनका बुबाले आरनको काम र आमाले दाउरा बिक्री गरेर घर खर्च चलाउँदै आएका छन्। आरनको काम र दाउरा बिक्री नभएको दिन उनीहरुको भान्सामा आगो बाल्न मुस्किल हुने गरेको छ।
करीब १२० घर दलित समुदाय रहेको यो ठाउँबाट अहिले बसाइँ सरेर अर्को ठाउँमा जाने गरेको अर्का तुले विकले बताए। अप्ठ्यारो ठाउँ, पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय बसाइँ सर्न बाध्य भएको उनले बताए। बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थाभाव हुँदा थप समस्या भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताए।
यहाँका दलित समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो छ । आरन पेशालाई आधुनिक बनाउनेदेखि अन्य आयआर्जनका पेशामा लगानी गरेर जीवनस्तर बदल्न अहिलेसम्म कुनै काम नभएको यहाँका सबै दलित समुदायको भनाइ छ ।
आन्तरिक विवादमा फसेको ठुलीभेरी नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको स्थानीयवासीको भनाइ छ । वर्षायाममा यहाँका दलित समुदाय घर छोडेर अर्काको घरमा शरण लिन बाध्य हुनुपरेको छ । जोखिमपूर्ण बस्ती भएका कारण घर छाडेर अर्काको घरमा शरण लिन बाध्य भएको उनीहरुको भनाइ छ। रासस