एक दिनअगाडि मृत घोषित विरामीलाई जीवित भनेपछि विराट नर्सिङ होम तनावग्रस्त, पैसा असुल्न खोजेको आरोप

बिएल

एक दिनअगाडि मृत घोषित महिलालाई भोली पल्ट जीवित भनेपछि विराटनगरमा रहेको विराट नर्सिङ होम तनावग्रस्त बन्न पुगेको छ। 

विरामीका आफन्तहरूले लासमाथि व्यापार गर्न खोजेको भन्दै अस्पताल प्रशासनले स्तरीय उपचारभन्दा पनि अस्पतालले लुटको भावना राखेको भन्दै आन्दोलन थालेका छन्।

सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ वर्षीय सुलोचनादेवी कामतलाई उपचारका लागि असार ३१ मा अस्पताल भर्ना गरिएकी थियो। उच्च रक्तचापको असरले टाउकोमा रगत जमेको भन्दै शुक्रबार डा. विवेक बैद्यको नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो।

मृतकका आफन्त सुरज कामतका अनुसार अस्पतालले सोमबार राति उपचार सफल नभएको र हृदयघातका कारण मृत्यु भएको भनेर परिवारका सदस्यलाई जानकारी गरायो।

‘हामी तयारीका साथ शव बुझ्न मंगलबार आउँदा अस्पतालले विरामीको मृत्यु नभएको र श्वास चलिरहेको बताए,’ सुरजले भने–‘आइसियूमा राखेर हामीसँग पैसा असुल्ने नियत देखियो।’

आफन्तले विरोधस्वरुप आन्दोलन गरेपछि स्थितिलाई सामान्य बनाउन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी बलका जवानहरू परिचालन गर्नु परेको थियो।

मृतकका आफन्तले अस्पतालले पैसा असुल्न खोजेको भन्दै चिकित्सकलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति लगायत माग राखेका छन्।

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले ब्रेनह्याम्रेजका कारण बिरामीको मृत्यु भएको र अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरे।

उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था राम्रो नभएका कारण पछि मृत्यु पनि हुन सक्ने जानकारी शल्यक्रिया अघि नै परिवारलाई गराइएको बताए। विडानीले मृतकका परिवारसँग अन्य रकम असुल्ने कुनै मनसाय अस्पतालको नरहेको बताए।

मृतक पक्षसँग भएको वार्तामा अस्पतालले उपचार वापत तिर्न बाँकी रहेको ८० हजार रुपैयाँ छुट गरिदिने सहमति भएको उनको भनाइ छ। ‘उपचारको दुई लाख ४५ हजार रुपैयाँ तिर्नु पर्ने रहेछ,’ विनाडीले भने, ‘अस्पतालले ८० हजार छुट गरिदिएर मृतक परिवारले एक लाख ६५ हजार तिर्ने सहमति भयो ।’

प्रकाशित मिति: : 2019-07-23 17:02:40

प्रतिकृया दिनुहोस्