जमिन विवादमा भारतमा ११ जनाको हत्या, २७ जना पक्राउ

Agency

भारतमा अपराधको शहर भनेर चिनिने उत्तर प्रदेशमा एउटा जमिन विवादलाई लिएर गत बुधबार भएको ११ जनाको हत्या प्रकरणले राजनीतिक मोड लिएको छ।

उत्तर प्रदेशको सोनभद्र जिल्लाको उम्भा गाउँमा गत बुधबार जमीनको विवाद हुँदा स्थानीय ११ जनाले ज्यान गुमाएका थिए। भू–माफियासहित करिब ३ सयको संख्यामा आएको जत्थाले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ महिलासहित ११ जनाको निधन भएको थियो।

घटनामा प्रधानपञ्च यज्ञदत्त भोर्तियासमेत २७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। उत्तर प्रदेश सरकारले वातावरणलाई सहज तुल्याउन घटना भएको गाउँमा धारा १ सय ४४ लागु गरेको छ।

उत्तर प्रदेशमा पछिल्लो समय जमीन विवादलाई लिएर भएको यति ठूलो घटनाको जिम्मेवारी उत्तारुढ भारतीय जनता पार्टीले लिनुपर्ने भन्दै विपक्षी दलले शुक्रबार संसदको सत्र चल्न दिएनन्।

मुख्यमन्त्री योगी आदित्यनाथले दोषी माथि कार्यवाही हुने प्रतिबद्धता व्यक्त गर्दा पनि विपक्षी पार्टीले हंगामा गरेका थिए। यसपछि सदनलाई स्थगित गर्नु परेको थियो।

यस्तै, केन्द्र सरकारमा विपक्षी रहेको भारतीय कंग्रेस पार्टीकी महासचिव प्रिंयका गान्धी वाड्रा शुक्रबार घटना भएको गाउँ जान खोज्दा धारा १ सय ४४ लागु भएको हुनाले सुरक्षाकर्मीले आधा बाटोमै उनलाई रोकेका थिए।

प्रिंयका आफूले घटना भएको गाउँ जान पाउनुपर्छ भनेर बीच बाटोमै धर्नामा बसेको भारतीय न्युज च्यानलहरूले बताएका छन्।

यो घटनामा मुख्यमन्त्री योगी आदित्यनाथले समाजवादी पार्टीका नेता तथा पूर्व गृहमन्त्री आजम खानलाई भू–माफियाको नाइकेको उपमा दिएका छन्।

प्रकाशित मिति: : 2019-07-19 12:48:23

प्रतिकृया दिनुहोस्