गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन्।
सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारको पहिलो कदम स्वरुप प्रहरीलाई आवश्यक मोटरसाईकल प्रदान गरेको मन्त्री गुरुङले बताए।
संविधानले व्यवस्था गरेअनुसार प्रहरी प्रदेशको मातहतमा आइसक्नुपर्ने भए पनि अझै सङ्घको मातहतमा नै रहेको उनको भनाई छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सानो सहयोगले पनि प्रभावकारी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे।सीमित साधनस्रोत भए पनि प्रहरीले देश र जनताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले साधनस्रोत सम्पन्न बनाउन पनि आफूहरूले प्रयास गर्ने धारणा राखे।
प्रदेश प्रहरी कार्यालय प्रमुख घिमिरेले प्रहरीले साधनस्रोतको कमी हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी सफलताका साथ बहन गर्दै आएको जानकारी गराए। प्रदेश सरकारबाट प्राप्त सहयोगले सुरक्षाको प्रभावकारितामा टेवा पुग्ने उनको भनाई छ।