दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आफ्नो कार्यकाल भरीमा आफ्नो देशमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्याउने प्रतिवद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना मागेका छन् ।
राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो ।
राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भने, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।”
साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराएका हुन्। गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।
पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ ।
दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पुर्याउने लक्ष्यसहितको नीति असफल भएको हो ।
राष्ट्रपति मुनको पाँच बर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ । चेओङ वा–दायका सहयोगीहरूसँग राष्ट्रपति मुनले “मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगल कठीन निर्णय लिएको” बताएको जनाइएको छ ।
मुनले मतदानबाट निर्णय लिइनु पहिले केही सवेदनशिल बिषयमा आफ्नो धारणाका वाबजूद पनि लचकता अपनाउन सकिने सङ्केत गरेका थिए।