यो एक त्यस्ती महिलाको कथा हो, जसको १५ वर्षकै उमेरमा विवाह भयो। कलिलैमा घरजम गर्न उनलाई मन थिएन तर पारिवारिक दबाबले विवाह भएरै छोड्यो।
किशोरावस्थामै छोरीको विवाह गरिनु त्यसबेला त्यहाँ नौलो थिएन।
अहिलेसम्मै पछि परेको सोलुखुम्बु जिल्ला। फेरा भन्ने गाउँ। त्यहाँको अवस्था ४५ वर्षअघि झन् कस्तो थियो होला ?
पक्कै पिछडिएको र विकासका फल चाख्नबाट बञ्चित।
हो त्यही गाउँमा जन्मेकी थिइन्, निमाल्हामु शेर्पा।
४५ वर्षअघि १५ वर्षकी हुँदा विवाह ‘गराइएकी’ उनी अहिले कहाँ होलिन्, कस्ती होलिन्, के गर्दै होलिन् ?
धेरैले भन्न सक्छन् – ‘ढाड कुप्रो पारेर गाउँमै धेरै नातिनातिना खेलाउँदै होलिन्।’
त्यसो भन्नु अस्वभाविक पनि छैन।
कलिलैमा विवाह गर्ने सोलुखुम्बु क्षेत्रका बहुसंख्यक महिला कम उमेरमै बुढ्यौलीको शिकार हुन्छन्। हिउँ, सिरेटो र ठिहीसँग जुध्दै खेतीपाती स्याहार्दा कतिबेला ढाड कुप्रो पर्छ, स्वयम्ले पत्तो पाउँदैनन्।
निमाल्हामु भने अपवाद भइन्।
न उनको ढाड कुप्रिएको छ न हातमा ठेला छन्। ६० वर्ष टेक्दै गर्दा पनि उनी अधवैंशे देखिन्छिन्।
यो त भयो बाहिरी आवरणको कुरा। उनी ३० वर्षदेखि क्यानडामा बस्दै आएकी छन्। त्यसअघि ६ वर्ष स्कटल्याण्डमा बसिन्। अर्थात्, विदेशमै ३६ वर्ष बिताइन्। र, अहिले क्यानडामा करौंडौं डलर बराबरको व्यापार व्यवसायकी मालिक हुन्।
अर्को कुरा, निमाल्हामु व्यापारसँगै जन्मथलो अर्थात् सोलुखुम्बु क्षेत्रको विकासमा मरिमेट्ने समाजसेवी पनि हुन्। समाजसेवा पनि कस्तो भने ‘कलिलैमा विवाह गर्नुहुन्न’ भन्ने सहितका ज्ञान दिने गरी खुम्बु क्षेत्रमा महिला साक्षरता, शैक्षिक विकास र स्वास्थ्य उपचारको।
‘यो सबै कसरी सम्भव भयो ?’ उनलाई सोधियो।
‘त्यो जमानामा विद्रोह गरेर’ उनले सुनाइन्।
‘कस्तो विद्रोह ?’ फेरि सोधियो।
‘त्यो बेला हरेक आमाले कलिलैमा छोरीको विवाह गर्दिन्थे, मेरो पनि त्यसै गराइयो’ निमाल्हामुले सुनाइन्, ‘तर, मैंले विद्रोह गरें र विवाह नस्विकार्ने निर्णय गरें, त्यही निर्णयले यहाँसम्म आइपुग्न सफल भएँ।’
***
आत्मनिर्भर नभई गराइएको विवाहप्रति बेखुसी थिइन् उनी। परिवारसँग भन्दा ‘त्यो जमाना’सँग बढी दुःखी। त्यसपछि १७ वर्षको उमेरमा ‘आफैं केही गर्नसक्ने भएर गरिखाने’ लक्ष्यसहित गाउँ छोडेर काठमाडौं लागिन्। जहाँ दाजुहरु सहित आफन्त र परिवारको कमी थिएन।
विदेशी पर्यटक बाक्लै आउजाउ हुने त्यो बेला ठमेलमा रेष्टुरेन्ट सञ्चालन गर्दै ‘नेपाली भाषा शिक्षक’का रुपमा उनी व्यस्त भइन्। ‘पिसकोर भोलेन्टियर्स’देखि विदेशी दूतावासका साना ठूला सबैखाले कर्मचारीलाई सामान्य नेपाली भाषा सिकाउने काम उनका लागि दुबै अर्थले राम्रो थियो, पहिलो खर्च पनि जुट्ने। दोस्रो, अँग्रेजी पनि सुध्रिने।
यसैक्रममा डच भोलेन्टियर्सलाई नेपाली सिकाउन एक दिन धुलिखेलमा थिइन् निमाल्हामु। जहाँ उनको भेट भयो स्कटल्याण्डका एक विद्यार्थी युवकसँग। विश्वविद्यालयको पढाई सकेर नेपाल घुम्न गएका उनीसमेत नेपाली सिक्न इच्छुक रहेछन्। र, ती स्कटिस् युवककी भाषा शिक्षिका भइन्– उनै निमाल्हामु।
‘भाषा शिक्षिका मात्रै होइन, समयले हामीलाई सुरुमा प्रेमजोडी र पछि दम्पती नै बनायो’ विवाहपछि स्कटिस् युवककै थर ‘म्याकल्हेनी’ लेख्न थालेकी निमाले सुनाइन्, ‘काठमाडौंमा ५ वर्ष संघर्ष गर्दा धेरै आत्मविश्वास बढेको थियो र विदेशीसँग विवाह गर्ने निधो गरें।’
विवाहपछि डेढ वर्ष म्याकल्हेनी दम्पती काठमाडौं नै रह्यो। उनीहरुबाट जेठो सन्तानका रुपमा छोरी जन्मिइन्। सुजन पेमा नामकी ती जेठी छोरीसहित म्याकल्हेनी दम्पती स्कटल्याण्ड लागे। सन् १९८३ मा नेपाल छोडेर स्कटल्याण्ड लागेकी निमाल्हामु श्रीमानको घरमा त्यहाँ छ वर्ष बसिन्। त्यसवीचमा कान्छी छोरी पनि जन्मिसकेकी थिइन्।
इन्जिनियरिङ फिल्डका श्रीमान्ले अवसर खोज्नेक्रममा ‘क्यानडा सर्ने’ निर्णय गरेपछि म्याकल्हेनी दम्पती सन् १९८९ मा टोरन्टोको ह्यामिल्टन आइपुग्यो। लगत्तै श्रीमान्को जागिर मिल्यो। निमा दुई छोरी स्याहार्दै घर सम्हाल्न थालिन्।
***
‘यता आएर अल्छी गरेको भए म घरैमा सीमित हुने थिएँ’ हालैको भेटमा निमाल्हामुले ब्रेक एण्ड लिंक्सलाई क्यानडा अनुभव सुनाइन्, ‘श्रीमानको कमाइले घर चलिहाल्थ्यो, पैसैका लागि मैले काम गर्नुपर्थेन।’
तर, ‘केही गर्ने’ हुटहुटी बोकेकी उनी चुलोचौकामै सीमित हुन चाहिनन्। दुई छोरीलाई खुवाइ पियाइ गरेपछि आफैं स्कुल जान थालिन्। ह्यामिल्टनकै एक स्कुलबाट ग्रयाजुएट सकेपछि उनले ‘टोरन्टो स्कुल अफ् बिजनेश’मा पढिन्, जहाँ व्यापार–विधि सिकिन्।
क्यानेडियन शिक्षा, अँग्रेजीको ज्ञान। शेर्पाको रगत, बुवाको बच्चैदेखि हौसला। यी सबै कुराको संयोजनले निमाल्हामुको आत्मविश्वास बढ्दै गयो। उनले सन् १९९५ मा ‘शेर्पा इम्पोर्ट’ नामको एक कम्पनी खोलिन्। जसले नेपालबाट गलैंचासहित हस्तकलाका सामग्री क्यानडा ल्याएर बिक्री गर्थ्यो।
६ भाइ र ३ बहिनीमध्ये कान्छी छोरीका रुपमा जन्मिएकी निमाल्हामुले बुवा रिञ्जी शेर्पाको आदर्श र मान्यतालाई सदैब पालना गरिन्। पढाई, मेहनत, इमान्दारिता र अनुशासन बुवाबाट सिकिन् र आफूसँगै परिवारलाई सिकाइन्।
सोलुखुम्बुमा लामो समय प्रधानपञ्च रहेका बुवाले आफूसहित दाजु र दिदीहरुलाई चरिकोटबाट शिक्षक ल्याएर नपढाएको भए आज यो ठाउँमा नहुने उनी स्वीकार्छिन्। बुवाको शिक्षाप्रतिको हत्ते हालाईकै कारण सबै दाजुभाई र दिदीहरु छुट्टाछुट्टै पेशा व्यवसायमा स्थापित भएको ठान्छिन् उनी।
‘६० वर्षअघि नै बुवालाई छुवाछुत गर्नु हुन्न, शिक्षालाई महत्व दिनुपर्छ भन्ने ज्ञान थियो’ तर, बिडम्बना ! १३ वर्षकै उमेरमा बुवा गुमाएकी निमाल्हामुले सुनाइन्, ‘सोलुको हाम्रो घरमा त्यसबेला दलितलाई पनि भित्र पस्न दिइन्थ्यो, शिक्षकको परिवारलाई नै घरमा राखिएको थियो।’
क्यानडा आएपछि पढेर र व्यापार व्यवसायमा लाग्नुलाई निमाले बुवाको ‘जीवनमा आत्मनिर्भर हुनुपर्छ’ भन्ने सुझावकै शिरोपर मानेकी छन्। त्यससँगै कमाएको पैसामध्ये केही अरुको सेवामा खर्च गर्नुपर्छ भन्ने पनि बुवाबाटै सिकेकी हुन्।
निमाल्हामु अहिले क्यानडा बस्ने नेपालीमूलका सबैभन्दा धनी व्यक्तिमध्ये अग्रपंक्तिमा आउँछिन्। उनको स्वामित्वमा अहिले ब्यारी र नायग्रा फल्समा दुई रिटायर्डमेन्ट हाउस छन्। ती रिटायर्डमेन्ट हाउसमा मानसिक विरामी र बुढ्यौली जीवन बिताइरहेका रहन्छन्। जुन पैसा कमाउन मात्र होइन, परोपकार दृष्टिले पनि महत्वपूर्ण छ। एक सय जनाभन्दा बढीलाई रोजगारी दिएकी छन्।
त्यसवीचमा उनले ‘सर्भाइभल जब’का रुपमा रेष्टुरेन्ट र कपडा पसलमा काम गरिन्। आप्रवासीले सुरुवाती वर्षमा भोग्ने दुःखको अनुभव गरिन्। व्यापारमा लाग्दै गर्दा अर्थात् आत्मनिर्भर भइसकेपछि सन् १९९५ देखि उनी ‘सर एडमण्ड हिलारी फाउण्डेशन क्यानडा’मा आवद्ध भएकी हुन्।
***
मे २९, सन् १९५३।
अर्थात्, सगरमाथामा मानव पाइला पहिलोपल्ट पुगेको दिन। तेन्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीको आरोहण सफल भएको दिन। त्यसको छ वर्षपछि सन् १९६० मा जन्मिएकी हुन् निमा। तर, आफू नजन्मिँदै आफ्नो गाउँको बाटो भएर सगरमाथा आरोहण गर्ने न्युजिल्याण्डका उनै हिलारीसँग निमाले थुप्रैपल्ट संगत गर्ने मौका पाइन्।
हिलारी स्वयंको उपश्थितिमा आरोहणको २० औं बार्षिकोत्सव सोलुखुम्बु क्षेत्रमा मनाईंदैथ्यो सन् १९७३ मा। त्यसनिम्ति हिलारीको निम्तो पाएर क्यानडाबाट पर्वतारोही जेके अर्नर पनि सोलुखुम्बु गए। त्यहाँ हिलारीसँग दोस्ती भयो। सोलुखुम्बुका शेर्पाको कष्टकर जीवनशैलीले हिलारी पहिल्यैदेखि चिन्तित थिए, जेकेलाई पनि छोयो।
फर्केपछि सन् १९७५ मा आफैं प्रमुख रहने गरी अर्नरले ‘सर एडमण्ड हिलारी फाउण्डेशन क्यानडा’ स्थापना गरे। हिलारी निमित्त प्रमुख रहे। अनि, न्युजिल्याण्डबाट वर्षमा एक दुईपल्ट क्यानडा आउन थाले। यी सबै काम सोलुखुम्बु क्षेत्रको विकासमा टेवा पुर्याउन थियो। त्यही फाउण्डेशसनसँग निमा सन् १९९५ देखि जोडिइन र अहिले डाइरेक्टर छन्।
हिलारी क्यानडा आउँदा निमाले भेट्ने त भइहालिन्, ‘हिमालकै छोरी’का रुपमा हिलारीबाट माया र सद्भाव पनि बटुलिन्। धेरैपल्ट धेरैतिर सँगै यात्रा गरिन्। पर्वतारोहण र समाजसेवाबारे धेरै ज्ञान हासिल गरिन्।
‘फाउण्डेशनले खुम्बुक्षेत्रमा ३० विद्यालय बनाइसकेको छ, खुन्दे अस्पताल चलाइरहेको छ’ संस्थाका उपलव्धिबारे निमाले सुनाइन्, ‘महिला साक्षरता, वन संरक्षण र स्वास्थ्य उपचारमा हामी सघाइरहेका छौं।’ फाउण्डेशनलाई ‘क्यानेडियन इन्टरनेश्नल डेभ्लपमेन्ट एजेन्सी (सिडा)ले पनि सघाइरहेको छ।
त्यति मात्र होइन, अभिलेखअनुसार फाउण्डेशनकै चाँजोपाँजोमा खुन्दे अस्पतालमा विदेशी डाक्टरले सुविधा दिन्छन्। अँग्रेजी माध्यमबाट पढाउने विद्यालय खोलिएको छ। वृक्षरोपण गरिएको छ। सयौं महिला साक्षर पारिएको छ। ती सबै काम निमा र क्यानडाको सहयोगले मात्र सम्भव भएका होइनन् तर उनीहरुको योगदान उच्च छ।
‘हिलारीलाई निकैपल्ट क्यानडामा भेटे, सँगै यात्रा गर्ने अवसर पाएँ’ जन्मथलोको सेवा गर्न मिल्ने प्रेरणाबारे निमाले भनिन्, ‘उनी एक व्यक्ति मात्र थिएनन्, इतिहास थिए।’
नेपालका लागि क्यानेडियन राजदूत नादिर पटेलले भरखरै सोलुखुम्बु क्षेत्र भ्रमण गर्दा हिलारी फाउण्डेशन र सिडाले गरेका योगदानको चर्चा गर्दै केही तस्वीर सार्वजनिक गरेका थिए।
हिलारीले सोलुखुम्बु क्षेत्रमा पुर्याएको योगदानबाट प्रभावित निमाले पनि मनमनै घोषणा गरेकी छन्, ‘बाँचुञ्जेल जन्मथलोको सेवा गर्ने र त्यहाँका मानिसको शैक्षिक, शारीरिक, मानसिक अवस्था बलियो पार्ने। ताकि, भविष्यमा कसैले विद्यालय जान बञ्चित हुन र कलिलैमा विवाह गर्न नपरोस्।’