वर्षा रोकिएसँगै उद्धार तीव्र

तस्बिरः बिएल

हेटौडा । मकवानपुरमा तीन दिनदेखिको वर्षा आज रोकिएको छ । वर्षा रोकिएपछि उद्धार तथा राहतको काम तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।

जिल्लाका अधिकांश स्थानमा खानेपानी, विद्युत् र सडक अबरुद्ध भएकाले तत्काल क्रमशः खानेपानी तथा अन्य सेवा सञ्चालन गर्नेगरी काम भइरहेको उनले बताए। ‘सुरक्षा समितिको बैठक बसिरहेको छ, हामी तत्काल क्षतिको आकलन गरेर त्यहीअनुसार काम अगाडि बढाउँछौँ’, प्रमुख जिल्ला अधिकारी तामाङले भने। बाढी तथा पहिरोका कारण जिल्लामा दुईको ज्यान गएको र  केही घाइते भएका उनले बताए।

कैलाशमा पहिरोले पुरिएर घाइते भएकी एक महिलाको उद्धार गरेर अस्पताल लैजाने तयारी भए पनि बाटोका कारण समस्या परेको उनले जानकारी दिए।

मकवानपुरको भीमफेदीका ९२ घर जोखिमका कारण त्यहाँका जनतालाई अन्यत्र सारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेर सुरक्षित स्थानतर्फ सारेको प्रहरीले जनाएको छ।

बाढी पहिरोका कारण अबरुद्ध बाटो सञ्चालन हुन सकिरहेका छैनन् ।

बाढी पहिरोले बितण्डा मच्चाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पार्टीको नियमित बैठक स्थगित गरेर राहत र उद्धारमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

बाढीपहिरोका कारण जताततै समस्या भएपछि पीडामा परेका नागरिकलाई राहत र उद्धारमा लाग्नका लागि निर्देशन दिइएको नेकपाका अध्यक्ष मुनु सिग्देलले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2019-07-13 12:53:15

प्रतिकृया दिनुहोस्