भोटो जात्रा सम्पन्न

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार ललितपुरमा सम्पन्न भएको छ ।
ललितपुरको जावलाखेलमा आइतबार विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेना, नेपाल प्रहरी र स्काउटको टोलीले सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति नन्द वहादुर पुन, कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, सभामुख कृष्ण वहादुर महरा लगाएत सुरक्षा निकायका प्रमुख, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा हजारौँ सर्वसाधारणको सहभागिता थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गर्नाका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गर्नुभएको थियो ।

मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा भएको हो ।

मच्छिन्द्रनाथलाई अन्नदाता,पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।

प्रकाशित मिति: : 2019-06-10 00:02:25

प्रतिकृया दिनुहोस्