बारा, पर्सा, रौतहट लगायतका मध्यतराईमा ९० प्रतिशत रोपाईं

बारामा धान रोपिसकेको खेत। तस्बिरः बिमला

यस वर्षको मनसुन ढिलो गरी सुरू भयो। मनसुन सक्रिय भए पनि लगातारको पानीले खेतहरू डुबानमा परे जसकारण किसानले ढिलो गरी धान रोपाई गरे।

नदी नालामा बाढीको बहाव कम र डुबान रोकिएपछि बारा, पर्सा, रौतहट लगायतका मध्यतराईका किसानहरुले धान रोपाइँलाई तीव्रता दिएका हुन्। 

अहिलेसम्म झण्डै ९० प्रतिशतको हाराहारीमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए। गत वर्षको हाराहारीमा यस वर्ष पनि धान रोपाई सम्पन्न भई सकेको यादवले जानकारी दिए।

साउनको १३ गते सम्म बारा, पर्सा, रौतहटमा झण्डै ६३ प्रतिशत मात्रै रोपाई भएकोमा ९ दिन यता ३७ प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र वाराका प्रमुख यादवले दावी गरे।

सुरुमा मनसुन ढिला भएका कारण मध्यतराईमा रोपाइँमा ढिलाइ भएको र असारको अन्तिम सातामा अत्यधिक पानी परेको कारण बाढी र डुवानले रोपाइँ प्रभावित भयो।

अहिले बाढी तथा डुवान समस्या कम भएपछि किसानले धान रोपाईलाई तीव्रता दिएकाले रोपाइँको अवस्था गत बर्षकै हाराहारीमा पुगेको यादवले बताए।

देशमै यस पटक सबैभन्दा धेरै बाढी र डुवानबाट प्रभावित बनेको प्रदेश २ मा ३ लाख ६५ हजार ६१५ हेक्टरमा धान खेती हुने गर्दछ। त्यसमध्ये ३ लाख ३५ हजार ३८५ हेक्टरमा रोपाइँ सम्पन्न भएको प्रदेश नम्बर २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा सबै भन्दा बढी पर्सा जिल्लामा झण्डै ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ भने वारामा ९० र सबै भन्दा कम रौतहटमा ८० प्रतिशत रोपाई भएको छ। रौतहट जिल्ला यस पटकको बाढी र डुवानले सबै भन्दा बढी प्रभावित जिल्ला रहेको छ।

डुबानमा परेको खेतको पानी बिस्तारै कम हुदै गएपछि किसानहरु धान रोपाईलाई तीव्रता दिएका हुन्।

प्रकाशित मिति: : 2019-08-08 15:07:34

प्रतिकृया दिनुहोस्