नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ म्याद जारी

तस्बिरः बिएल

नेकपाका अर्का सांसद पार्वत गुरूङलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले म्याद तामेल गरेको छ।

‘ज्यान मार्ने प्रयास गरेको’ भनी विश्वध्वज खड्काले दायर गरेको जाहेरीसहितको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको हो।

गत बैशाख २९ गते दायर भएको मुद्दामा प्रतिवादी बनाइएकाले उनलाई पक्राउको लागि पत्र पठाएको हो। मुद्दा दायर भएको करिब ६ महिनासम्म पनि विवरण सार्वजनिक भएको थिएन।

उक्त मुद्दामा मिन बहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, सांसद गुरुङ, उर्मिला धामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङलाई प्रतिवादी बनाइएको छ।

नेपाल साप्ताहिकसँग कुराकानी गर्दै सांसद गुरुङले आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकारेका छन्।

२०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको थियो।

त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।

अब सांसद गुरुङ आफैँ अदालतमा उपस्थित हुन सक्नेछन् भने प्रहरीले पक्राउ गरेर अदालत उपस्थित गराउने बाटो पनि खुला छ। त्यसपछि उनी विरुद्धको आरोपमाथि थुनछेक बहस हुनेछ। उक्त आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।

प्रकाशित मिति: : 2019-10-16 18:03:21

प्रतिकृया दिनुहोस्