देशका धनी र हुनेखानेहरुले सरकारले केही गरेन भनेर आलोचना गरे: प्रधानमन्त्री ओली (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका धनी र हुनेखानेहरुले सरकारले केही गरेन भनेर आलोचना गरेको आरोप लगाएका छन् ।

दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा गरिब दुःखी र मध्यम वर्गले सरकारका काम गरेको बताए । उनले वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भैरहेको, गरिबी निवारण भैरहेको दाबी समेत गरे ।

हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’

हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनेको उनले बताए ।

उनले भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश बनाएर तिव्र विकासको बाटोमा लैजाने बताए ।

वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने बताए ।

प्रकाशित मिति: : 2019-10-16 13:56:11

प्रतिकृया दिनुहोस्