नेपालमा पर्यटनको प्रशस्त सम्भावना छ र एकदिन सरकारले यो विषयलाई प्राथमिकतामा नपारी सुखै छैन भन्ने आत्मविश्वास सहित पर्यटन व्यवस्थापन विषयमा अध्ययन गर्न म कोरिया आईपुगेँ।
यसैक्रममा केही दिनअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। यो लक्ष्य पुरा गर्न १० करोड रुपैया बजेट समेत विनियोजन गरेको खबरले मलाई निकै उत्साहित बनायो।
यत्तिकैमा जुन ६ देखि कोरियामा अन्तर्राष्ट्रिय पर्यटन महोत्सव २०१९ को आयोजना गरियो।
विदेशको ठाँउ कामको चापाचाप बिच आफैंले पढेको गाछन् युनिर्भसिटिमा पर्यटनको दिगो विकास र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवर्धन सम्वन्धि कार्यशालामा भाग लिए।
कार्यशालामा पर्यटन वर्षको विषयलाई लिएर नेपालको बारेमा प्रश्न उठ्ला र बुद्ध जन्मिएको मेरो देश, मनै लोभ्याउने प्राकृतिक सौन्दर्यले भरिएको मेरो देशको बारेमा मज्जाले वर्णन गरौंला भन्ने थियो।
तर, कार्यशालामा आई एम फ्रम नेपाल भन्ने वित्तिकै कोरिया, चाईना, जापान रसियालगायतका देशको विभिन्न विश्वविद्यालयमा पर्यटन सम्बन्धि अनुसन्धान गरिहेका साथीले म माथि एउटै प्रश्न तेर्स्याए।
सोसल मिडियामा हङ्गामा मच्चाएको माउन्ट एभरेष्टमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या के हो?
अर्को एक कोरियन प्रतिनिधि बिचमै बोले ‘साच्चै कोरियामा कतिपय पहाडमा ट्रेकिङ गर्नेको भीडले पहाडको सुन्दरता र यसको प्राकृतिक अवस्थितिमा खलबल पुगेको भनेर ट्रेकिङमा रोक लगाईएको छ। नेपालमा यस्ता ट्रेकिङको दिगो विकासका लागि कस्ता उपायहरु अपनाईएका छन्?
साथीहरूले यसरी प्रश्न तेर्साइरहँदा मेरो मनमा भने नेपाल भ्रमण वर्ष २०२० को विषयमा कसैले फ्याट्ट प्रश्न सोध्छ होला भन्ने थियो। तर, अह! यो विषय त कसैको कानसम्म पुगेकै रहेनछ।
उनीहरूले सोधेका माथिका प्रश्नमा मैले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई जोड्दै जवाफ दिएँ।
पर्यटन तथा साहासिक खेल सम्वन्धी चासो राख्ने रसियन साथीले मेरो जवाफलाई रोकेर विचमै प्वाक्क सोध्यो- अहिले सउलमा अन्तर्राष्ट्रिय पर्यटन उद्योग मेला २०१९ चलिरहेको छ नि, त्यहाँ नेपालको सहभागिता छ?’
लौ बर्वाद! मलाई यस बारे केही थाहा नै थिएन।
तर पनि नेपालको दूतावास पनि सउलमा नै भएकोले हचुवाको भरमा भनिदिएँ- ‘छ नि किन नहुनू।’
बरू नेपालको ट्राभल सम्वन्धि जानकारी लिन धेरैभन्दा धेरैलाई त्यहाँ पठाईदिनु है,’ भन्दै म सिधै गाङ्नामस्थित कोएक्स कन्भेन्सन सेन्टर तिर हानिएँ। जहाँ अन्तर्राष्ट्रिय पर्यटन मेला लागेको थियो। बोली त हालेँ, अब मलाई त्यहाँ पुगेर नेपाल खोज्न हतार भईरहेको थियो।
अब सिधै जान्छु र मेरो देशको पर्यटन प्रवर्धन कसरी भईरहेछ हेर्छु। साथै आवश्यक परे मेलामा आउनेलाई पर्यटन जानकारी दिन्छु भन्ने सोचेर सिधै मेलामा पुगेँ।
गेटबाट भित्र जाने वित्तिकै विभिन्न देशका आ-आफ्नै संस्कृति झल्कने पोशाकमा सजिएका व्यक्ति विभिन्न झाँकिसहित उभिएको देखेँ।
एसियाकै बंगलादेशलगायतका सबै देशका झाँकिसहितको उपस्थिति थियो।
युरोपबाट स्पेन, ग्रिस ,माल्टा, रसिया साथै अफ्रिकन तथा अमेरिकनको सांस्कृतिक बाँजागाँजा र झाँकि तथा स्थानीय विशेष पहिचान सहितको उपस्थिति थियो। तर, अहँ! त्यो भीडमा मैले नेपाल कतै देखिनँ।
लौ नेपालको स्टल छैन क्यारे। मैले अघि व्यर्थै गफ लगाएजस्तो भयो भनेर पछुताउँदै आँखा डुलाउँदै थिएँ।
निधारमा चिटचिट पसिना आउन लाग्यो। म आत्तिएँ।
यत्तिकैमा हल ‘ए’ को कुनामा नेपाली दूतावासको बोर्ड देखेपछि बल्ल ढुक्क भयो। लामो स्वास फेरेँ र एक्लै मुस्काउँदै स्टलतिर लागेँ।
स्टलमा नेपाली कोही थिएनन्। न त नेपालीपन झल्कने कुनै दृश्यनै त्यहाँ देखिन्थ्यो।
बाहिर स-सना पोष्ट कार्ड राखिएको थियो र टिभीमा भिडियो डकुमेन्ट्री देखाईएको थियो। भित्रपट्टी नेपाली दूतावासकी प्रतिनिधि कोरियन महिला आफ्नै धुनमा मोवाईलमा व्यस्त थिईन्।
उनलाई आउने जाने मानिसको चासो पनि थिएन र नेपालको प्रवर्धन गर्नुपर्छ भन्ने भावना पनि देखिदैनथ्यो। आखिर उनी नेपाली पनि त थिईनन् नि।
करिब २ घण्टा त्यतै वरिपरि डुलिरहे पनि मन भने नेपालको स्टल वरीपरि घुमिरह्यो। तर अहँ! त्यति बेलासम्म न त कोही नेपाली प्रतिनिधि आए। न त ती कोरियन महिला आगन्तुकको अनुहारमा हेरेर नेपाली स्टल तिर कसैलाई स्वागत नै गरिन्।
पर्यटन व्यवस्थापनको विषयमा कोरियामै पढेको विद्यार्थी म। नेपालमा पर्यटन वर्ष २०२० मनाउने र सरकारले समृद्ध नेपालको प्रमुख मेरूदण्डको रुपमा ऊर्जा र पर्यटनलाई लिएको कुराले पर्यटनको क्षेत्रमा नेपालमा केही गर्न सकिन्छ कि, भन्ने सोचले हौसिएको थिएँ। तर कोरियामा आयोजना भएको मेला अवधिमा विभिन्न देशबाट आएकालाई नेपालको पर्यटन वर्षको बारेमा कुनै जानकारी नहुनु र स्टलमासमेत कोरियनको मात्र उपस्थिति देखिँदा मन खपिसक्नु भएन। म स्टल भित्रै पसेँ र नमस्ते गर्दै सोधे, कोरियनमै सोधेँ।
कोहि नेपाली हुनुहुन्न? (नेपालबुन आनगेस्यो?)
उनको जवाफ अहँ हुनुहुन्न। – (आनिएयो आनगेसेयो) मैले फेरि प्रश्न तेर्साएँ- कता जानु भयो त?(अदि गास्यस्ययो?)
हिजो आउनुभाको थियो। तर आज आउनु भएन। (अजे ओस्यस्सनन्दे ओनुल आन ओस्यस्सयो)
उनले मन नलागि नलागि जवाफ फर्काईन्।
हिजो को आउनु भयो? (अजे नुगु ओस्यस्सयो?)
श्रम सहचारीज्यू – (नोमुख्वाननिम्)
पर्यटन प्रवर्धन गर्न श्रम सहचारीज्यू? उहाँको क्षेत्र नभए पनि राजदूतावासबाट आउनुभएछ राम्रो भयो।
तर, तपाईं कोरियन मान्छे नेपालको सवै गन्तव्यको जानकारी दिन सक्नुहुन्छ? उनले मुस्कुराउँदै जवाफ दिईन्- कोरियाको मात्र सक्छु। अलि अलि नेपालको त्यो पनि कोरियनलाई मात्र।
विरक्त लाग्यो। उनको छेउमै रहेको टुलमा थचक्क बसेर मनमा कुरा खेलाउन थालेँ।
यति भव्य अन्तर्राष्ट्रिय मेलामा नेपालको बारेमै थाहै नभएको कोरियनलाई राखेर कसरी नेपालको पर्यटन प्रवर्धन हुन्छ?
यो त अन्तर्राष्ट्रिय प्लेटफर्म हो। कोरियनसँग मात्र भन्दा पनि विभिन्न देशबाट आएका निजी तथा सरकारी विटुवि कम्पनीसँग सम्बन्ध बढाउने महत्वपूर्ण अवसर हो।
यस्तो बेलामा नेपाल पर्यटन बोर्डले कोरियाका लागि नियुक्त गरेको मानार्थ पर्यटनदूत कता व्यस्त होलान्? भित्र भित्रै एक्लै मन कुडाउनुभन्दा गर्न सक्ने केही थिएन।
कोरियामा नेपालको हरेक गाँउगाँउका नेपालीको उपस्थिति छ। यदि नेपाली दूतावासले समयमै फेसवुकबाट मात्र पनि आव्हान गरेको भए हामी नेपालीले आफ्नो आफ्नो ठाँउको मौलिकता बोकेको संस्कृतिहरु प्रस्तुत गथ्र्यौ होला। नेपालको पर्यटन प्रवर्धनको लागि आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग पक्कै गथ्र्यौं।
यसले नेपालले मनाउन लागेको पर्यटन वर्ष-२०२० र नेपालमा पर्यटन क्षेत्रमा देखेको सम्भावनालाई नमिठोसँग निमोठिदियो।
पर्यटन वर्षलाई व्यवहारमा कार्यान्वयन गर्ने सरकारको उद्देश्य भए यति ठूलो अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको यो दूर्गति देख्नुपर्ने थिएन होला। यस्तै सोच्दै कोठातिर गएँ।
तर, दिमागमा एउटै प्रश्न तेर्सिरह्यो।
सरकारको यस्तो निष्क्रियताले पर्यटन व्यवस्थापन पढ्न मैले यहाँ बगाएको रगत र पसिना नेपालमा कहाँ कसरी काम आउँला? नेपालको पर्यटन क्षेत्रको विकासमा मैले देखेको सम्भावना र सरकारले ल्याएको योजना यत्तिकै तुहिने नै हो त?