जहाँ समस्या, त्यहाँ सजिलो

जहाँ केही छैन । त्यहाँ अवसर धेरै हुन्छ ।’ नेपाल पनि त्यस्तै देश हो । यहाँ धेरै अवसरहरू छन् । तर, युवाको रोजाइमा भने नेपालभन्दा विदेश नै पर्ने गरेको छ ।

दैनिक २ हजारको हाराहारीमा युवा रोजगारका लागि विदेश पलायन हुने गरेका छन् । यसलाई रोक्नु अहिलेको चुनौती हो । 

इच्छाशक्ति, धैर्यता र इमानदार भएर काम गर्ने हो भने थोरै लगानीमा नेपालमै पनि लाखौं आम्दानी गर्न सकिन्छ । ऋण काडेर विदेशी भूमिमा रगत र पसिना बगाउन जानै पर्दैन । आफ्नै माटोमा काम, नाम र दाम कमाउन सकिन्छ ।

यसको उदाहरण हो ‘सजिलो मर्मत सेवा’ । 

लितपुरको बालकुकारीस्थित सजिलो मर्मत सेवाको कार्यालयमा पुग्दा कोही युवा फोनमा ब्यस्त थिए । कोहीका औंला ल्यापटपमा सलबलाइरहेका थिए । अरुसँग बोल्ने फुर्सद उनीहरूलाई थिएन । आफ्ना ग्राहकलाई कसरी छिटो सेवा दिने र टेक्निसियनलाई परिचालन गर्ने भन्नेमै उनीहरूको ध्यान थियो ।

‘मानिसको पहिलो आकर्षण नै उसको बाहिरी रूप हो ।’

ती युवाले लगाएको टिसर्टमा लेखिएको थियो, ‘जहाँ समस्या, त्यहाँ सजिलो’ । टिसर्टको क्याचलाइन नै सजिलो मर्मत सेवाको आकर्षण हो । जो कोहीलाई त्यही ‘क्याच’ लाइनले तान्छ ।

अनि समय निकाले कम्पनीका संस्थापक सुजित रेग्मीले । खोले सजिलो मर्मत सेवाको नालीबेली ।

यसरी जन्मियो ‘सजिलो मर्मत सेवा’ 

सजिलो मर्मत सेवाको संस्थापक हुन् सुजितसँगै कविस श्रेष्ठ र पुकार आचार्य । सुजितसहितको टोलीले काठमाडौं विश्वविद्यालयमा एमबीए पढ्ने क्रममा फुरेको हो आइडिया । ‘कलेजमा प्रोजेक्ट वर्क बनाउने क्रममा जन्मिएको हो सजिलो मर्मत सेवा,’ सुजित भन्छन्, प्रोजेक्ट वर्कका लागि फुरेको आइडिया नै अहिले दैनिकी बनेको छ ।’

‘पोजेक्ट वर्क सकिएपछि त्यत्तिकै बसेका थियौं । २०१६ मा आइडिया स्टुडियोले आइडिया हन्टको आयोजना गरेको थियो । हामीले त्यही आइडियालाई आइडिया हन्टमा प्रस्तुत गर्यौं । अन्तत ः हाम्रो आइडिया विजेता भयो । हाम्रो आइडियालाई सबैले मन पराइदिनुभयो । अहिले खुशी छौं,’ सुजित भन्छन् ।

‘आइडिया हन्टमा विजेता भएपछि २०१७ बाट तीन जना मिलेर काम शुरू गर्यौं,’ सुजित भन्छन्, ‘अहिलेसम्म तीन जनाले १० लाख लगानी गरेका छौं ।’

काम त गर्ने तर चुनौती पनि उत्तिकै थियो । शुरूमा उनीहरूले एक सयभन्दा बढी घरमा गएर रिसर्च गरे । के–कस्ता समस्या छन् । त्यसको टिपोट गरे । रिसर्चका क्रममा नयाँभन्दा पुराना सामानको मर्मत गर्नुपर्ने धेरै देखियो । अनि उनीहरू लागे मर्मत गर्ने टेक्निसियन खोज्न ।

नेपालमा वर्षेनि ८ हजारभन्दा बढी टेक्निसियन सीटीईभीटीबाट उत्पादन हुन्छन् । तर, उनीहरू नेपालमा काम नपाएपछि विदेश जान बाध्य छन् । अहिले ६५ जना टेक्निसियनलाई सजिलो मर्मत सेवाले रोजगार दिएको छ ।

प्रकाशित मिति: : 2019-09-05 19:36:12

प्रतिकृया दिनुहोस्