'डेस्पासिटो'मा नेपाली स्वाद, कमाए विदेशी 'फ्यान'

स्पेनी भाषाको गीत 'डेस्पासिटो' नसुन्ने कमै होलान्। अरू भाषामा बनेका यसका 'कभर' गीतले समेत युट्युबमा राम्रै 'भ्युज' कमाएका छन्। 'डेस्पासिटो' को एउटा कभर नेपालीहरूले पनि बनाए, जुन हामीमाझ लोकप्रिय छ। यो भिडिओमा शब्द वा स्वर भने छैन। मौलिक बाजा सारंगी र गितारको धुन मुख्य रूपमा प्रयोग भएको यो 'डेस्पासिटो'को सांगीतिक स्वाद धेरैले मनपराए। 

'स्किन एन्ड बोन्स' को च्यानलबाट अपलोड भएको भिडिओको भ्युज केही घन्टामै हजारबाट लाख पुगेको थियो। त्यो देखेर 'स्किन एन्ड बोन्स' समूहका गितारवादक टुन्नाबेल (दीपेन्द्र) थापा र सांरगीवादक मनीष गन्धर्व चकित भएका थिए रे।

यसअघि दुई-चार हजार भ्युजमै रमाइरहेका टुन्नाबेल र मनीषले एकअर्कालाई फोन गरेर सोधे, 'भिडिओ बुस्ट गरेको हो?'

जवाफले दुवैलाई थप अचम्मित बनायो, 'हैन।' भ्युजसँगै च्यानल सब्स्क्राइबर्स पनि बढिरहेको थियो। लुइ फोन्सीको 'डेस्पासिटो' झन्डै साढे छ अर्ब भ्युज पाएको युट्युबकै सर्वाधिक चर्चित गीत हो। 'स्किन एन्ड बोन्स'ले गत वर्ष फेब्रुअरीमा हालेको यही गीतको सांगीतिक भिडिओको भ्युज अहिले ५० लाख पुग्न लागेको छ। नेपाली च्यानलका निम्ति यो अंक राम्रो मानिन्छ। 

उसो त 'स्किन एन्ड बोन्स' का सब्स्क्राइबर पनि सवा एक लाख हाराहारी पुगिसकेका छन्। लामो समयदेखि संगीतमा जोडिएका टुन्नाबेल र मनीष आफ्नै मौलिक गीत-संगीत बनाउन सक्थे। तर उनीहरूले कभर नै किन रोजे?

दुवै जना बेलायती गायिका डुवा लिपादेखि स्वप्न सुमनसम्मको उदाहरण दिन्छन्। सन् २०१९ मा ग्रामी अवार्ड जित्न सफल डुवा लिपा, बलिउडमा जमेकी जेनिशा गान्धी, नेपाली कलाकारहरू सञ्जिमा लामा, दीक्षा जे. थापा, अल्मोडा राना, स्वप्न सुमनहरूको संगीत यात्रा 'कभर आर्टिस्ट'कै रुपमा भएको हो।

'आफ्नै संगीत बनाउने विचार थियो। तर खर्चिलो हुने र स्रोता-दर्शकको ध्यान तान्न लामो समय लाग्ने सोचेर कभर गर्ने निर्णयमा पुग्यौं,' आफूलाई टुन्नाबेल भनेर चिनाउने दीपेन्द्र भन्छन्, 'कभर भिडिओ बनाउँदा अलि सजिलो पनि हुने भयो।'

पहिलो पटक उनीहरूले गायक एड शरिनको 'पर्फेक्ट' गीतको 'इन्स्ट्रुमेन्टल' अपलोड गरेका थिए। यो भिडिओ ठमेलको रिफ क्याफेमा खिचिएको थियो जहाँ टुन्नाबेल र मनीष दुई वर्षदेखि प्रस्तुति दिँदै आइरहेका छन्।

प्रकाशित मिति: : 2019-09-05 11:30:54

प्रतिकृया दिनुहोस्