नेपालमा चिनियाँका गम्भीर अपराध, कारागारमा भारतीय अपराधी धेरै

काठमाडौं – नेपालका कारागारमा १ हजार १ सय ९५ विदेशी नागरिक कैदीबन्दी रहेका छन् ।

विभिन्न देशका विदेशी नागरिकले नेपालमा अपराध गरेपछि अभियुक्त र अपराधीलाई नेपालकै कारागारमा राखेर मुद्दाको पुर्पक्ष वा सजाय भुक्तान गराउने गरिएको छ । 

कारागार व्यवस्थापन विभागका प्रवक्ता बासुदेव घिमिरेले भने, ‘देशभरमा ७३ वटा कारागार छन् । सबै कारागारको तथ्यांक हेर्ने हो भने कैद भुक्तान गरिरहेका १ हजार १ सय ९५ विदेशी छन् ।’

शुक्रवार दरबारमार्गको नबिल बैंकको एटीएम ह्याक गरी चोरी गर्दैगर्दा चिनियाँ नागरिक झु लिङझाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

आइतवार प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ सोमवार पक्राउ परे । एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने ३ नेपाली पनि सोमवार पक्राउ परेका छन् ।

अभियुक्तले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

शुक्रवार नै चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै मानव तस्करी गर्ने ४ जना चिनियाँ नागरिक र ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । केही दिनका लागि नेपाल आएका चिनियाँ नेपाली महिलासँग दलालको सहयोगमा विवाह गरेको आरोपमा पक्राउ परेका थिए ।

पछिल्लो समयम नेपालमा चिनियाँ नागरिकको चहलपहलसँगै अपराधका घटना पनि बाहिरिरहेका छन् । नेपालमा पर्यटन र व्यापारको लागि चिनियाँ नागरिक आउने गरिरहेको देखिन्छ ।

नेपालमा मानव बेचबिखन, खोटा (नक्कली नोट) अपचलन, वन्यजन्तु तस्करी, कर्तव्य ज्यान मुद्दा लगायतका अपराध गरेर देशका विभिन्न जेलमा चिनियाँ नागरिक लगायत विभिन्न देशका नागरिकले सजाय भुक्तान गरिरहेका छन् ।

केन्द्रीय कारागारमा ११ चिनियाँ

काठमाडौंको केन्द्रीय कारागारमा ११ जना चिनियाँ थुनुवा र कैदीबन्दी रहेको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए । ‘केन्द्रीय कारागारमा ११ जना चिनियाँ विभिन्न अपराधमा कैदीबन्दीको रुपमा रहेका छन्,’ बाँस्कोटाले भने, ‘खोटा अपचलन, राजस्व चुहावट लगायतका अपराधमा सजाय भुक्तान गरिरहेका छन् ।’ सबैभन्दा धेरै विदेशी थुनुवा र कैदीबन्दी केन्द्रीय कारागारमा छन् । भारतीय १ सय १५ जना, पाकिस्तानी २० जना, चिनियाँ ११ जना, थाई ६ जना, रसियन ५ जना, बंगलादेशी ४ जना, नाइजेरियन र फ्रान्सका ३/३ जना, माली, अफ्रिका, भुटान, बुल्गेरिया र सोमालियाका २/२ जना र भियतनाम, जापान, बेलायत, साउथ अफ्रिका, सिंगापुर, फिलिपिन्स, इरान, क्यानडा, भेनेजुएला, जर्मन र साउदी अरबमा १/१ जना गरी जम्मामा २ सय ५ जना कैदीबन्दी केन्द्रीय कारागारमा रहेका जेलर बाँस्कोटाले बताए ।

प्रकाशित मिति: : 2019-09-05 11:26:35

प्रतिकृया दिनुहोस्