पर्यटन मन्त्री भट्टराईलाई पहिलो गाँसमै ढुंगा, यात्रु नपाएपछि जापान उडानमा कटौती !

काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको ओसाकाका लागि झण्डै ११ वर्षपछि शुरू भएको नेपाल वायु सेवा निगमको नियमित उडानमा कटौती हुने भएको छ ।

यात्रु नपाएपछि निगमले एक महिनाका लागि सातामा ३ मध्ये एक उडान कटौती गर्ने निर्णय गरेको प्रवक्ता गणेशबहादुर चन्दले लोकान्तरलाई जानकारी दिए ।

सातामा तीन दिन मंगलवार, बिहीवार र शनिवार काठमाडौं–ओसाका–काठमाडौं उडानका लागि जेक्याबबाट अनुमति पाएकोमा बिहीवारको उडान कटौती गर्ने निर्णय गरेर जापन सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई जानकारी समेत गराइसकेको निगमका नायब प्रबन्ध निर्देशक समेत रहेका प्रवक्ता चन्दले बताए ।

‘पूअर लोड (कम यात्रु) का कारण हामीले बिहीवारको फ्लाइट झिक्ने भनेर निर्णय गरेका छौं,’ प्रवक्ता चन्दले भने, ‘यस विषयमा जेक्याबलाई जानकारी समेत गराइसकिएको छ ।’

जेक्याबले फ्लाइट कटौती गर्नुको कारण सोधेको र आफूहरूले जवाफ समेत पठाइसकेको उनको भनाइ छ । ‘हामीले पूअर लोड र ल्याक अफ पब्लिसिटी (प्रचारप्रसार अभाव) को कारण देखाउँदै जवाफ पठाएका छौं,’ चन्दले भने । 

व्यवस्थापकीय कमजोरीले घाटाको व्यापार

वाइड बडी विमान खरिदपछि त्यसलाई नयाँ गन्तव्य खोज्ने क्रममा जापान उडानका लागि पहल शुरू भएको थियो । सबै प्रक्रिया पूरा गरेर यस वर्षको शुरू (वैशाख) मै उडान अनुमति पाएपनि भदौ दोस्रो साताबाट मात्र उडान शुरू भएको हो ।

यसबीचमा गत जुलाइका लागि तय भएको उडान रद्द भएको थियो ।

तयारीका लागि झण्डै ५ महिनाको समय पाउँदा पनि निगम व्यवस्थापनको कमजोरीका कारण एउटै उडानबाट लाखौं घाटा व्यहोर्नुपर्ने स्थिति आएको छ ।

प्रकाशित मिति: : 2019-09-03 18:57:55

प्रतिकृया दिनुहोस्