जवाफ खोजौं– कहाँ छन् २५०६ जना ?

काठमाडौं । आज अगस्ट ३० । यो तिथिका दिन हरेक वर्ष विश्वभर नै बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ । बेपत्ता सम्बन्धी दिवसको अर्थ बेपत्ता सम्बन्धी घटनाविरुद्धको दिवस हो  । संयुक्त राष्ट्र संघले नै आजको दिनलाई ‘इन्टरनेसनल डे अफ द डिस्एपीयर्ड’को रुपमा मान्यता दिएको छ ।

नेपालमा विगतको द्वन्द्वको क्रममा बेपत्ता भएका आफन्त पत्ता लगाइदिनुप¥यो भन्दै २,५०६ जनाको तर्फबाट बेपत्ता आयोगमा उजुरी परेको छ । तर, ती उजुरीमा कुनै सुनुवाई भएको छैन बरु ती उजुरी दराजमा थन्क्याएर राखिएको छ । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘बेपत्ताहरुको समस्या समाधान गर्न राज्यले चाँडो भन्दा चाँडो कदम चाल्नु जरुरी छ । हाम्रो मान्यता यही हो । ’’

राज्यमा मानवअधिकार मामिला हेर्ने निकायका प्रमुखले यसो भने पनि नेपालको सन्दर्भमा भने त्यो भनाइलाई बारम्बार बेवास्ता गर्ने गरिएको छ । 

बेपत्ता भएका नागरिकको विषयलाई लिएर गैर सरकारी संस्थाहरुले हरेक वर्ष आकर्षक व्यानर सार्वजनिक गर्ने गरेका छन्–‘उनीहरु कहाँ छन् ?’ भन्ने । उनीहरु वर्षको एक दिन रमझम गर्छन् तर अरु बेला बिर्सिएजस्तो आभास भइरहेको छ । नारा र व्यानर जति आकर्षक देखिन्छ त्यसले पीडितहरुको मन भने उसैगरी भतभती पोलिरहेको हुन्छ । 

आजै पनि भ्वाइसेज अफ वुमन मिडिया, स्टोरी किचेन, अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल, नागरिक आवाज, ल्याक, इन्सेक, इन्हुरेड इन्टरनेसनल, हुरोन, कोक्याप, एम्नसेस्टी इन्टरनेसनललगायतका संघ संस्थाले दिउँसो  ४ः३० बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गर्दैछन् ।
बेपत्ता परिवारका सदस्य रहेका द्वन्द्वपीडित रामकुमार भण्डारी भन्छन्,‘‘तत्काल केही होला जस्तो देखिएको छैन । तर, हाम्रा कुरा हामी गरिरहन्छौं । दबाब सिर्जना गरिरहन्छौं ।’’

प्रकाशित मिति: : 2019-08-30 09:20:21

प्रतिकृया दिनुहोस्