सञ्‍चालन नहुँदै चर्किन थाल्यो जनकपुर रेल्वे स्टेसनको भवन

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर रेल सेवा अगामी कात्तिकसम्म सञ्‍चालन गर्ने सरकारको लक्ष्य छ। तर, सेवा सञ्चालन हुनुअगावै जनकपुरस्थित रेल्वे स्टेशनको भवनमा चिरा पर्न थालेको छ। भारत सरकारको सहयोगमा इर्कोन इन्टरनेसनल कम्पनीले निर्माण गरेको भवन प्रयोगमा आउनुपुर्व नै चर्किन थालेको हो।

भवनको दक्षिणी भागको पर्खालमा कतै चिरा परेको छ भने कतै फुटेको छ। रेल सञ्चालन नै अन्यौलमा परेका बेला भवनमा चिरा पर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। ‘भारतीय कम्पनीले गुणस्तरहीन भवन निर्माण गरेर गइहाल्छ, प्रयोग त हामीले गर्ने हो,’ स्थानीय सुमनकान्त झाले भने।

गुणस्तरहीन भवन निर्माण भइरहँदा पनि कुनै निकायले अनुगमन नगरेको भन्दै स्थानीय आक्रोशित छन्। ‘रेल कहिले चल्ने अत्तोपत्तो छैन। तर भवन फुट्न थालेको छ। गुणस्तरहीन काम भएको प्रष्ट छ तर कसले हेर्ने?,’ स्थानीय अजय साहले भने।

पान खाएर थुक्दा स्टेशन दुर्गन्धित बनेको छ भने पर्खाल कुरुप देखिन थालेको छ।

भवन गुणस्तरहीन रहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाले पनि स्वीकार गरे। तर कम्पनीलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नलिएको उनको गुनासो छ। ‘यसमा हाम्रो कुनै भूमिका छैन तर पनि हामीले पटक–पटक उनीहरूलाई भनिरहेका छौं, हेर्छाैं भन्छन् तर सुनुवाइ छैन,’ उनले भने। भारत सरकारले ५ सय ४८ करोड भारतीय रुपैयाँको लागतमा ब्रोडगेज रेललगायत भौतिक पुर्वाधार निर्माण गरिरहेको छ। तत्कालका लागि चल्ने भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ।

प्रकाशित मिति: : 2019-08-29 07:55:11

प्रतिकृया दिनुहोस्