अध्यक्ष-प्रधानमन्त्री दिन ओली तयार, नेकपामा प्रचण्ड निर्णायक

तस्बिरः नेपालखबर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समयमा देखा परेको समीकरण फेरबदलबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक रुपमा शक्तिशाली बनेका छन्। पूर्वएमालेका दुई प्रमुख नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच समूहगतका साथै व्यक्तिगत सम्बन्धमै तिक्तता बढेपछि अध्यक्ष दाहाललाई त्यसको लाभ भएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूविरुद्धको सम्भावित गठबन्धनको आँकलन गरेर अध्यक्ष दाहाललाई विश्वासमा लिने गरी समझदारी गरेपछि बरिष्ठ नेता नेपाल पार्टीमा एक्लिएका छन्। ओली पनि दाहालको साथ बिना अगाडि बढ्न नसक्ने अवस्थामा पुगेका छन्।

नेकपा सचिवालयका एक सदस्यका अनुसार सिंगापुरबाट फर्केपछि ओलीले पार्टीको विधान संशोधन गरी दाहाललाई अध्यक्षको कार्यकारी अधिकार सुम्पिने तयारी गरेका छन्।

सिंगापुर जानुअघि नै ओलीले दाहाललाई सचिवालय बैठक आयोजना गरेर पार्टीका निर्णयहरू गर्नसक्ने गरी कार्यकारी अधिकारको जिम्मेवारी दिएर त्यसको संकेत गरिसकेका छन्।

Puspa4

दाहाललाई अध्यक्षको कार्यकारी अधिकार दिएर ओलीले पाँच वर्ष नै प्रधानमन्त्री हुन खोजेका हुन् त?

नेपालखबरको यो प्रश्नमा नेकपा सचिवालयका ती सदस्य भन्छन्, ‘त्यस्तो पनि होइन, पार्टी एकताअघि ०७५ जेठ २ गते प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमति अनुसार नै अबको एक वर्षपछि दाहाललाई सरकार हस्तान्तरण गर्ने तयारी ओलीले गर्नु भएको छ।’

यो नयाँ समझदारी गर्दा राज्यका विभिन्न पदमा रहेकासहित ओली समूहका कम्तीमा पाँच जना प्रमुख नेताहरु संलग्न रहेकाले सहमति कार्यान्वयन हुने कुराले दाहाल हौसिएका छन्। यति हुँदाहुँदै पनि दाहालले बरिष्ठ नेता नेपालसँगको सम्बन्ध कायम राखेर विकल्प नै खोज्नुपरे पनि आफू कमजोर नहुने गरी कदम चालेका छन्।

स्रोतका अनुसार बरिष्ठ नेता नेपालको बरियता खोस्ने गरी बालुवाटारमा बैठक आयोजना हुने दिन विहान र निर्णय भइसकेपछि पनि अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए। यतिसम्म कि बालुवटारमा बरिष्ठ नेता नेपाललाई पार्टी बरियतामा झलनाथ खनालपछि राख्ने गरी निर्णय हुनासाथ अध्यक्ष दाहालले अलग्गै भेटेर फकाउने प्रयास गरेका थिए।

प्रकाशित मिति: : 2019-08-28 18:10:26

प्रतिकृया दिनुहोस्