शालिकराम पुडासैनी आत्महत्या : दुनियाँलाई रमिता, बा-आमालाई झन् पीडा राति १०:३० बजेको त्यो खबर...

तस्बिरः नयाँ पत्रिका

नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ हाम्रो आवाजले उनको ध्यान हामीतर्फ मोडियो । तर, जवाफ दिएनन्, बरु हामीबाट तर्किन खोजे । 

फाँटको बीचमा ढलान गरिएको एकतले घर । १२ वैशाख ०७२ को भूकम्पपछि शालिकरामले नै बनाएका थिए । अनन्तरामदम्पती यही घरमा बस्छन् । यो सूचना हामीले बाटैमा लिएका थियौँ, पुडासैनी परिवारलाई नजिकबाट चिन्नेहरूसँग । 

घरमै पुग्दा आँगनमा भेटिए शालिकका दाइ २९ वर्षीय हरि पुडासैनी । उनी पनि हामीसँग तर्किन खोजे । हामीले मिडियाबाट आएको जानकारी गराउँदा निधार खुम्च्याए । अनुहार रातो पारे । आक्रोशमिश्रित बोली फुटाए, ‘कसैसँग कुरा गर्नु छैन । कुरा गरेर फाइदा पनि छैन । हामीले थाहा पाइसक्यौँ, तपाईंहरू किन आएको भनेर । हामीलाई न्याय होइन, चिथोर्न आएको हो तपाईंहरू ।’ हामी नाजवाफ भयौँ । 

प्रकाशित मिति: : 2019-08-28 11:31:03

प्रतिकृया दिनुहोस्