भिडियोमा मन्त्रिपरिषद बैठक : वैधानिकतामाथि प्रश्न

सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । प्रधानमन्त्री ओलीले यसलाई ‘मन्त्रिपरिषदको बैठक’ बताए पनि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ ।

प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट बाहिरिएपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सोमबारको भिडियो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ बताएका थिए ।

बास्कोटाले सोमबार पत्रकारहरुसँग सो बैठकलाई ‘मन्त्रिपरिषदको बैठक’ भनेनन् । उनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा यति मात्र भने, ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास भयो । र, यो सफलै भयो ।… विभिन्न मन्त्रीज्यूहरुले आ-आफ्नो मन्त्रालयका कुराहरु राख्नुभयो । वहाँ (प्रधानमन्त्री) ले आवश्यक निर्देशन पनि दिनुभयो । त्यति नै हो ।’

प्रधानमन्त्री र सल्लाहकार भन्छन्- मन्त्रिपरिषद बैठकै हो

सोमबारको ‘भिडियो कन्फरेन्स’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिंगापुरबाट बसेको मन्त्रिपरिषदको बैठक’ भनेका छन् ।

भिडियो सम्वादपछि प्रधानमन्त्रीले गरेको टि्वटमा लेखिएको छ, ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलोचोटि सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सिंगापुरबाटै टि्वट गरेर सोमबारको भिडियो कन्फरेन्सलाई ‘मन्त्रिपरिषदको बैठक’ नै भनेका छन् ।

रिमालको टि्वटमा केही तस्वीरहरु राखेर भनिएको छ, ‘सिंगापुरदेखि काठमाडौं : पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै ।’

प्रकाशित मिति: : 2019-08-27 12:55:48

प्रतिकृया दिनुहोस्