सय रूपैयाँमा किनेको सेयर ५८ रुपैयाँमा नि बिक्दैन

तस्बिरः नेपाल न्यूज

प्रतिकित्ता सय रूपैयाँमा किनेको खानीखोला हाइड्रोपावरको सेयर अहिले ५८ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्छ। एक वर्षअघि उक्त कम्पनीको सेयर प्रतिकित्ता एक सय १० रूपैयाँमा कारोबार भएको थियो।

नेसनल हाइड्रोपावरको त्यही हालत छ। त्यस कम्पनीको पनि सय रूपैंयाँको सेयरको मूल्य ५९ रूपैयाँमा झरेको छ।

खानीखोला र नेसनल हाइड्रोपावर मात्र होइन, अहिले पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत करिब दुई दर्जन कम्पनीको सेयर सय रूपैयाँभन्दा तल छ।

त्यसमा पनि अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य सय रुपैयाँ भन्दा तल छ। सर्वसाधारण नागरिकले मुरी रोपेर मानो त परैको कुरा भयो मुठी पनि फलाउन सकेका छैनन्। लगानीकर्ताले ब्याजको त के कुरा साँवा पनि गुमाउन पुगेका छन्।

एकताका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन निकै चर्चामा थिए। मन्त्री पदको सपथ लिएलगतै उनले ‘हाइड्रोपावरमा सेयर भएका युवालाई खोजिखोजी ज्वाइँ’ बनाउने अवस्थामा पुर्‍याउने उद्घोष गरेपछि सर्वसाधारणमा एउटा तरंग नै फैलिएको थियो।

‘पहिलापहिला जनकपुर चुरोट कारखाना र नागरिक उड्डयनका कर्मचारीलाई खोजिखोजी ज्वाइँ बनाउने गरिन्थ्यो’, मन्त्री पदको सपथ लिएलगत्तै मन्त्रालयमा कर्मचारीले गरेको स्वागत कार्यक्रममा पुनले भनेका थिए, ‘अब हाइड्रोपावरमा सेयर भएका युवालाई ज्वाइँ बनाउन हानथाप हुने वातावरण बनाउनेछु।’

निकै उत्साही पारामा २०७४ साल चैत २ गते उनले उक्त कुरा बोलेका थिए। उनको त्यस्तो भनाई सार्वजनिक भएलगतै जलविद्युत कम्पनीको सेयर मूल्य पनि बढेको थियो। लगानीकर्तामा आशाका किरण देखिएका थिए। तर, उनका त्यतिबेलाको अभिव्यक्तिलाई जलविद्युत कम्पनीको सेयर मूल्यले ‘वाहियात’ भन्ने प्रमाणित गरिदिएको छ।

विगतमा जलविद्युत कम्पनीको सेयर जारी गरेका कम्पनीको सेयर किनेका सर्वसाधरण लगानीकर्तामा रुने कि हाँस्ने भन्ने अवस्थामा छन्।

ऊर्जामन्त्रीले खोजी ज्वाइँ बनाउने स्थिति बनाउँछु भनेको पनि दुई वर्ष भइसकेको छ। यसबीचमा जलविद्युत कम्पनीको सेयर मूल्य उकालो लाग्नुको सट्टा झनै ओरालो लागेको छ।

लगानीकर्ता उत्साहित हुँदै जानुपर्ने हो तर, अहिलेसम्म पनि जलविद्युत कम्पनीको सेयर किनेकोमा पश्चाताप मानिरहेका छन्।

आमनागरिकले सय रूपैयाँमा किनेको सेयर वर्षौपछि अहिले ५८ रूपैयाँमा समेत बिक्री गर्नु पर्ने अवस्था छ। त्यो पनि लगानीकर्तालाई आवश्यक परेको बेलामा तुरुन्तै बिक्री गर्न सकेका छैनन्।

नेसनल हाइडोपावर कम्पनीको कुरा गरौं। सोमबार उक्त कम्पनीको सेयर प्रतिकित्ता ५९ रूपैयाँमा कारोबार हुन पुग्यो। सिनर्जी पावरको ८२ रूपैयाँ, आखुँखोला हाइडोपावर ६७ रूपैयाँ, रिडी हाइडो पावरको ८८ रूपैयाँ, खानीखोला हाइडो पावरको ५८ रूपैंयाँमा कारोबार भएको छ।

यसैगरी, दिव्यश्वरी हाइड्रोपावरको ६० रूपैयाँ, वरुण हाइड्रोपावर ८६ रूपैयाँमा किनबेच भएको छ। साथै छयाङदी हाइड्रोपावर ७६ रूपैयाँ, घलेम्दी हाइड्रोपावर ७८ रूपैयाँ, जोशी हाइड्रोपावर ६६ रूपैंयाँ, कालिका ८४ रूपैयाँ, माउन्टेन हाइड्रोपावर ९६ रुपैयाँ, युनियन हाइड्रो ६३ रुपैयाँ, युनिभर्सल पावर ८२ रूपैयाँमा कारोबार भएको छ।

यसैगरी, दुई फाइनान्स कम्पनी प्रोग्रेसिभ फाइनान्स ९७ रूपैयाँ, वल्र्ड मर्चेन्ट फाइनान्स ९४ रूपैयाँमा कारोबार हुँदै आएको छ।

अहिलेसम्म (केही अपवादबाहेक) जलविद्युत आयोजनाको सेयर खरिद गरेका सर्वसाधारण नागरिक नोक्सानीमा छन् र, हलचल गर्न सक्ने अवस्थामा छैनन्।

प्रकाशित मिति: : 2019-08-27 07:03:43

प्रतिकृया दिनुहोस्