ओली–नेपाल भनाभन : जनकपुरमा लखेटिएको १७ वर्षपछि बालुवाटारमा असुलउपर !

काठमाडौं – बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको व्यक्तिगत घोचपेचले पार्टीभित्रको विवाद सतहमा ल्याइदिएको छ ।

२ नेताबीचको ‘निम्नस्तर’को भनाभनले पार्टीभित्र नेताबीच असन्तुष्टि बढ्दै गइरहेको पुष्टि गरेको छ । एकीकरण प्रक्रिया टुंगोमा पुग्ने आशा गरेर बसेका पार्टीका कार्यकर्ता थप निराश बनेका छन् । बिहान ८ बजे बोलाइएको बैठक ९ बजेबाट मात्र शुरू भयो र बैठक शुरू हुने बित्तिकै अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकीकरणको बाँकी काम टुंग्याउन बैठक डाकेर निर्णय गर्न आग्रह गरे तर निर्णय प्रक्रिया सर्वसम्मत हुनुपर्ने ओलीको भनाइ लगत्तै नेता नेपाल ताते ।

‘तपाईं सहमति–सहमति भनेर मिठा कुरा गर्ने तर केही दिनयताका बैठकहरूमा आफैं पेलेर जान खोज्नुभएको होइन ?’ नेपालको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘पार्टी निर्णय विधि विधान अनुसार हुनुपर्छ ।’

त्यसपछि ओलीले निर्णय प्रक्रियामा आफू अध्यक्ष भएकाले आफ्नो सहमति चाहिने बताए । नेता नेपाल थप कड्किए, ‘यहाँ सबैको हैसियत बराबर हो ।’ 

त्यसपछि अन्य सदस्यहरूले यस विषयमा थप वादविवाद गर्न नपर्ने र बैठकले ‘अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरौं’ भनी प्रस्ताव गरे । त्यसपछि ओलीले नेपालतर्फ औंला ठड्याएर भने, ‘मलाई तपाईंको स्वास्थ्यलाभको कामना जरुरी छैन । मेरो स्वास्थ्यबारेमा अफवाह फैलाउँदै हिँड्नेले किन कामना गर्नु ?’

प्रकाशित मिति: : 2019-08-23 16:50:54

प्रतिकृया दिनुहोस्