बालुवाटारमा प्रधानमन्त्री ओली र माधव नेपालको भनाभन

तस्बिरः अनलाइनखबर

५ भदौ, काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ ।

बालुवाटारमा बिहीबार विहान सचिवालय बैठक शुरु भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वाथ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गरे । उनले आफू नभए पनि बैठक बसेर सहमतिका आधारमा निर्णय गर्न अर्का अध्यक्ष प्रचण्डलाई अधिकार दिएको जानकारी गराए ।

ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘आज बैठक एजेण्डामा छलफल हुने अवस्था रहेन । मलाई बैठकले स्वास्थ्य लाभको कामना गरोस्, म तपाईंहरुको शुभकामना लिएर उपचारका लागि जान्छु । यसबीचमा म नभए पनि बैठक राखेर सहमतिका आधारमा निर्णय गर्नुस् । आवश्यक परेमा मसँग फोनमा कुरा पनि गर्न सकिन्छ । पार्टी सर्वसम्मत ढंगले चलाउनुस् ।’

ओलीले त्यसो भन्नासाथ बरिष्ठ नेता नेपालले ‘हुँदैन, अब कुनै हालतमा सर्वसम्मती हुँदैन’ भन्दै प्रतिवाद गरे । आफूले असहमति राख्दाराख्दै थुप्रै निर्णय भएको भन्दै नेपालले अहिलेचाहिँ किन सहमतिमा मात्र निर्णय गर्ने ? भनेर प्रश्न गरेका थिए । केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध लेखेको भन्दै नेता नेपालले कारवाहीकोे माग गरे ।

नेपाल आक्रोशित रुपमा प्रस्तुत भएपछि अध्यक्ष प्रचण्ड रोक्न खोजे । उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री एवं अध्यक्ष ओली सिंगापुरमा रहेका बेला महत्वपूर्ण निर्णय गर्नुपरे फोनमा कुरा गर्ने र सहमतिकै आधारमा पार्टी सञ्चालन गर्ने बताए । सहमति हुन नसकेका विषयमा पनि प्रचण्डले नेताहरुसँग सल्लाह गरेर जाने बताएको एक नेताले जानकारी दिए ।

प्रचण्ड बोलेपछि महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग समय लिएर ‘आजको बैठकले अध्यक्ष तथा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना र हाम्रो शुभकामना दिएर पठाऔं’ भन्ने प्रस्ताव राखे । उनले ‘बैठक सञ्चालनका विधिहरुबारे छलफल गर्दै जाउँला । आज किन यस्तो नमिठो कुरा गर्ने’ भन्नासाथ नेता नेपाल पुनः आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।

उनले व्यंग्यात्मक शैलीमा ‘वाह ! कति राम्रो कुरा…!’ भन्दै असहमति राखेपछि ओली र नेपालबीच भनाभन भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले ओलीले नेपाललाई ‘ल, तपाईंको शुभकामना मलाई चाहिएन न नि त’ भन्दै बैठक टुंग्याउन खोजेका थिए । तर, नेता नेपालले ओलीलाई ‘तपाईं …. हो’ भन्दै ओलीमाथि अशिष्ट शब्द प्रयोग गरेको एक सचिवालय सदस्यले बताए ।

ओलीले नेपाललाई भने-तपाईको शुभकामना चाहिएन

नेपालले पुनः राजेन्द्र गौतममाथि कारबाहीको माग गरेपछि ओलीले बुधबार साप्ताहिकको प्रसंग ल्याएका थिए । पत्रिकाको समाचार देखाउँदै ओलीले ‘तपाईँले फरक मत नलेखी मिडियामा बाँड्नुहुन्छ भने तपाईँको कदम गलत भयो भनेर अर्कोले फेसबुकमा लेख्न पाउँदैन ?’ भन्ने प्रश्न गरेका थिए ।

प्रकाशित मिति: : 2019-08-22 14:41:00

प्रतिकृया दिनुहोस्