संघीय गणतन्त्र खतरामै परेको हो त ?

तस्बिरः बाह्रखरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आकस्मिक रुपमा बालुवाटारमा बोलाएर संघीय गणतान्त्रिक व्यवस्था नै खतरामा परेको संकेत गर्दै त्यसका लागि एकजुट भएर अघि बढ्न सबै राजनीतिक दलका नेताहरुसँग आग्रह गरे । साँझ ५ बजेदेखि बसेको बैठकमा विपक्षीहरुले प्रधानमन्त्रीलाई घोचपेच गरेभने प्रधानमन्त्रीले व्यवस्था माथि नै खतरा आएको बेलामा सबै एक जुट हुनुपर्ने प्रस्ताव गरेका थिए ।

नेत्रविक्रम चन्द विप्लव र राजावादी समूहबाट राज्य प्रणालीमाथि नै प्रहार भएको भन्दै संविधान जारी गर्ने मुख्य राजनीतिक शक्तिहरुलाई एकठाउँमा उभिन प्रधानमन्त्रीले आह्वान गरेका थिए । प्रधानमन्त्रीले आफू लोकतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै एकदलीय शासन व्यवस्था लाद्न नखोजेको स्पष्ट पारेका थिए । 

सरकार बनेको १७ महिना पुग्दा नपुग्दै किन यसरी व्यवस्थामाथि नै खतरा देखियो त ? मंगलबारको बैठकमा सामेल भएका सत्तारुढ नेकपाका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘सरकार आत्तिएको होइन । तर, केही साथीहरु आत्तिएको जस्तो देखिनुभयो । को आत्तियो भन्ने कुरा तपाईँहरुले बुझिहाल्नु हुन्छ । त्यसैले गणतन्त्रमाथि कसैले औंला उठायो भने हामी कसरी एकीकृत हुन्छौं भन्ने सन्देश दिनका लागि पनि प्रधानमन्त्रीले यो बैठक बोलाउनुभएको हो ।’’

प्रधानमन्त्रीको भनाइपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा देखिएको दम्भ र सत्तारुढ दलका नेताहरुले आलोचना सहनै नसक्दा यस्ता संकेतहरु देखिएको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले संसद्मा पेस गरेका विधेयक, प्रेसलाई नियन्त्रण गर्ने प्रयास, मानवअधिकार आयोगलगायतमा सरकार अनुदार देखिएको भन्दै प्रधानमन्त्रीकै कार्यशैली पहिले सच्चिनुपर्ने सुझाव दिएको एक सहभागीले बताए ।

अन्य राजनीतिक दलका नेताले पनि प्रधानमन्त्री ओलीलाई बहुमतको दम्भमा अघि नबढ्न सुझाव दिएका छन् । “संसद्मा प्रमुख प्रतिपक्षलाई पेलेर विभिन्न विधेयक ल्याइएको छ, यस्तो काम अब नहोस् । सरोकारवालासँग पनि छलफल गरेर प्रतिपक्षलाई विश्वासमा लिएर विधेयक अघि बढाइयोस्,” कांग्रेसका नेताहरुको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकमा राजपाका नेताहरुले मधेस आन्दोलनका क्रममा जेलमा रहेकाहरु अझै पनि नछुटेको प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले साझा विषयमा सबै पार्टी र सरोकारवालालाई समेटेर अघि बढ्न आफू तयार रहेको प्रतिवद्धता जनाएका थिए । राजपाका संयोजक मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका थिए– मधेस आन्दोलनमा रहेका साथीहरु अहिले पनि जेलमा छन् तपाईंलाई कसरी विश्वास गर्ने ?”

छलफलमा सहभागी राजपाका संयोजक राजकिशोर यादवले प्रधानमन्त्रीसँग भएको छलफल निकै सकारात्मक र सौहार्दपूर्ण भएको बताए । सर्वदलीय बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले बैठकको सुरुमै गणतन्त्र, संविधान, लोकतन्त्र र संघीयतामाथि नै निरन्तर आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको बताए ।

प्रधानमन्त्रीले देशका विभिन्न भागमा बढ्दै गएको हिंसात्मक गतिविधिविरुद्ध एक भइ सरकारलाई सहयोग गर्न आग्रह पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: : 2019-08-21 08:51:43

प्रतिकृया दिनुहोस्