बैंकको विश्वास गर्दा सडकबास हुने भो

तस्बिरः नेपाल समाचारपत्र

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ। ‘बैंक पनि साथी पनि’ भन्ने बैंकको भनाइ झूटो रहेछ।

एनआईसी एसिया बैंकले मलाई १ करोड ६० लाख ऋण दिन्छु भन्यो। २०७५ साल साउनको कुरा हो। यसअघि मैले पोखरा फाइनान्सबाट ६५ लाख र जनता बैंकबाट ४५ लाख रुपियाँ ऋण लिएर उग्रचण्डी नुडल्स चलाइरहेको थिएँ, तर लगानी थपेर उद्योग विस्तार गर्ने विचार आयो। म सबै कागजपत्र लिएर धुलिखेलस्थित एनआईसी एसिया बैंकमा गएँ।

त्यहाँका मेनेजर सुरेश पराजुलीले मेरो सबै कागजात हेरेर भन्नुभयो– ‘एउटा घर तपाईंको बाबुको नाममा रहेछ, अर्को तपाईंको श्रीमतीको नाममा, अनि उद्योग तपाईंले चलाउने, अब तपाईंले दुवै घर आफ्नो नाममा पास गरेर आउनुपर्यो, १ करोड ६० लाख पाउनुहुन्छ।’

आफूलाई ऋण चाहिएको थियो, किनभने नुडल्सबाट दैनिक १२–१५ हजारको खुद नाफा बचिरहेको थियो। मागे जति पैसा पाए उद्योगको क्षमता बढाएर डबल मुनाफा गर्ने सम्भावना थियो। मैले नामसारी गर्ने प्रक्रिया शुरू गरें, तर यसका लागि झन्डै १८ लाख रुपियाँ मेरो खर्च भयो।

पछि थाहा पाइयो बिनाकारण यत्रो पैसा पुँजीगत लाभकर र दर्ता रजिस्ट्रेसन गर्दा खर्च भयो। मेरो श्रमिती र बुबाको नामको सम्पत्ति धितो राखेर ऋण लिन मिल्ने रहेछ। बिनाकारण मलाई खर्चिलो र झन्झटिलो प्रक्रियामा लगियोे।

मसँग दुईटा घरका लागि दुई बेग्लाबेग्दै दृष्टिबन्धक तमसुक गरिएको छ र दुवै कागजमा १ करोड २० लाख रुपियाँ ऋण दिने कुरा गरिएको छ। यसरी मैले २ करोड ४० लाखको कागज गरिदिइसकेपछि मलाई १ करोड ६० लाख दिने आश्वासन दिएको थियो। कागजी प्रक्रिया पूरा गरेपछि पैसा लिन बैंकमा जाँदा त मेनेजर पराजुलीले बैंक नै

छोडिसक्नुभएछ। नयाँ हाकिमलाई कुरा बुझाउन नै समय लाग्यो। अन्त्यमा नयाँ हाकिमले १ करोड २० लाखभन्दा बढी दिन नसक्ने बताउनुभयो। पराजुलीसँगै ऋणको आश्वासन दिने अर्का हाकिम श्रीराम गिरीले पनि छोडिसक्नुभएछ, मलाई १ करोड ६० लाखको आश्वासन दिने कोही भएन। पराजुली माछापुच्छे« बैंकमा गए भने गिरी मेगा बैंकमा। मैले पहिलाको कुरा सुनिदिने कोही पाइनँ। अलिकति भएको पैसा पनि जग्गा नामसारीमै सकिएको थियो, यति पैसाले केही हुने अवस्था थिएन, लगानीकै अभावका कारण मेरो उद्योग नै बन्द भयो, मैले किस्ता ब्याज दुवै तिर्न सकिनँ। अहिले बैंकले मेरा दुवै घर लिलामीका लागि प्रक्रिया शुरू गरिसकेको छ।

पोखरा फाइनान्स र जनता बैंकको पुरानो ऋण तिर्दा र घर–जग्गा नामसारी गर्दा म उल्टो थप ऋणमा परें। मलाई आश्वासन दिएको अर्को ४० लाख मैले पाएँ भने योजनाबद्धरूपले सबै तिर्दै जानेछु। मैले उद्योग चलाउन पाए पो तिर्नु, यसरी धोका भएपछि घर–जग्गा लिलाम हुन दिनुबाहेक मेरो के विकल्प रर्यो र ?

फेरि मेरो घर हाइवेमै छ, बनेपा नगरपालिका–४ मा। पहिला सबै मूल्यांकन गरेर नै १ करोड ६० लाख दिन्छु भनेको हो, अहिले कुरा फेरेर धोका दिएपछि मैले के गरौं ? मलाई अहिलेसम्म मैले सही गरेको अफर लेटरसमेत बत्रैंकले फिर्ता दिएको छैन।
(श्रेष्ठसँग नेपाल समाचारपत्र प्रतिनिधिले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2019-08-20 07:21:38

प्रतिकृया दिनुहोस्