मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या

तस्बिरः रातोपाटी

रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले अमृताले साढे २ तले घरको दोस्रो तलामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको जानकारी दिए ।

प्रहरीका अनुसार असार २१ गते बिहान ९ बजेसम्म अमृता नउठेपछि सासु पवित्रा कुँवर उनलाई बोलाउँन पुगिन् । तर, ढोका ढकढक्याउँदै लामो समसम्म बोलाउँदा पनि कुनै प्रतिक्रिया नजनाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनास्थलमा पुगेको प्रहरीले ढोका फोडेर हेर्दा अमृता झ्यालको ग्रिलमा झुण्डिएकी अवस्थामा फेला परेकी थिइन् ।

अमृताले आत्महत्या गरेको ३ दिनपछि आएको पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै चोटपटक देखिएको छैन भने ‘ह्याङ्गिङ’ अर्थात झुण्डिएर आत्महत्या गरेको उल्लेख गरिएको छ । 

अहिले पनि अमृताको शव टिचिङ अस्पतालमा बेवारिसे बनेको छ । घर पक्षले शव बुझ्छु भन्दा पनि माइती पक्षले शव बुझ्न नदिँदा शव अस्पतालमै अलपत्र बनेको हो ।

किन बुझ्न दिइएन शव ?

अमृताको दाइ नरबहादुर कुँवरले बेहोश बनाएर बहिनीलाई झुण्ड्याएर मारेको भन्दै श्रीमान राजन कुँवर, दिदी गोमा कुँवर, सासुससुरा पवित्रा र खड्क कुँवरविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।

परिवारले यातना दिने गरेको भन्दै बहिनीलाई झुण्ड्याएर मारेको आरोप लगाउँदै नरबहादुरले असार २६ गते किटानी जाहेरी दिएको महाराजगञ्जका प्रमुख डीएसपी प्रसाईंले रातोपाटीलाई जानकारी दिए ।

बहिनीको आत्महत्या नभई हत्या भएको भन्दै सत्यतथ्य छानबिन गर्न नरबहादुरको माग छ । बहिनीको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै नरबहादुर असार २७ देखि शान्ति बाटिकामा रिले अनशनमा समेत बसेका छन् ।

अनशन बसेका नरबहादुरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

झुण्डिएको ठाउँमा मोबाइल भेटिएपछि...

आत्महत्या गरेकी अमृताको साथबाट मोबाइल बरामद भएको छ । झुण्डिएको ठाउँमूनि मोबाइल फेला परेपछि मोबाइल परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइयो ।

मोबाइलमा अमृताले आत्महत्या गर्नुभन्दा केही समयअघि मात्र विदेशमा रहेका श्रीमान राजनसँग कुराकानी गरेको पाइएको छ । अमृताले राजनलाई भिडियो कल गर्दै आत्महत्या गरेकी प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार राजनसँग भिडियो कल गर्नुभन्दा अघि अमृताले आफू राती २ बजे ‘सुसाइड’ गर्छु भन्दै ‘म्यासेज’ समेत गरेकी थिइन् । तर, अमृताले १२ बजे आत्महत्या गरेको पाइएको हो ।

अमृताले किन गरिन् आत्महत्या

असार २० गते ८ बजेतिर अमृतालाई नयाँ नामबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । न्हू नाम गरेको । यहीबीचमा अमृतालाई तत्कालै ‘हेल्लो’ भन्दै म्यासेज आउँछ ।

अमृताले पनि रिप्लाई दिन्छिन् ‘हाई’ !

त्यसपछि...उनीहरुबीच कुराकानी भयो

न्हू : ‘ह्वयर आवर यू’

अमृता : नेपाल । एण्ड यू ?

न्हू : भीयतनाम ।

भीयतनामबाट म्यासेज गरेको न्हूले एक्कासी अमृतालाई ‘तिम्रो डिभोर्स’ भएको हो भनेर सोधे । डिभोर्सको कुरा गरेपछि अमृताले शंका गर्छिन् र त्यो मान्छेले किन सोध्यो भनेर चासो गर्छिन् । र विस्तारै सबै कुरा बाहिर ल्याउन खोज्छिन् । 

कुराकानीकै क्रममा भीयतनामका न्हू भनिएको मान्छे अरु कोही नभएर श्रीमानको ‘प्रेमिका’ रहेको थाहा पाइन् । अमृताले न्हूलाई फकाई–फकाई श्रीमान राजनको बारेमा सबै जानकारी पाइन् ।

अन्ततः न्हूले राजन आउँदो अगस्ट ४ मा भीयतनाम आउन लागेको भन्दै अमृतलाई म्यासेज गरिन् । राजन भीयतनाम आउने भनेर आफूले होटल समेत ‘बुक’ गरिदिएको भन्दै न्हूले अमृतालाई म्यासेज पठाइन् ।

आफूहरुबीच भिडियो कल भएको ‘स्क्रिन सर्ट’ गरेर पठाइन् ।

त्यसपछि अमृताले न्हूलाई राजन आफ्नो श्रीमान भएको बताइन् भने राजनको र आफ्नो फोटो समेत पठाइन् ।

त्यसपछि न्हूले ‘सरी’ भन्दै म्यासेज गर्न छाड्छिन् । त्यतिबेला साँझको ८ बजिसकेको हुन्छ ।

प्रकाशित मिति: : 2019-08-19 07:20:45

प्रतिकृया दिनुहोस्