गुपचुपमा 'रेडियो दम्पती'को विभत्स हत्या, कसले मार्‍यो वृद्ध यी दम्पती? केही दिनमै रिजल्ट आउँछ : एसपी भट्ट

काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिका-८ बोबाङका स्थायी बासिन्दा हुन् भानबहादुर कामी। भानबहादुरलाई गाउँलेले ‘रेडियो कामी' भनेर पनि चिन्छन्।

६८ वटा हिउँदबर्खा काटेका कामीका दुई श्रीमती थिए। भानबहादुर जेठी श्रीमतीसँग बस्थे। बेलाबेलामा उनी कान्छी श्रीमती बीमा बस्ने ठाउँ बोबाङको 'कुइनेबाटो अनरे' पनि बस्न जान्थे।

बर्खाको समय थियो। बारीमा लगाएको अन्नबाली जंगली जनावरले खाने भएकाले उनी जनावर धपाउन भन्दै केही दिनअघि कान्छी श्रीमती भएको ठाउँ कुइनेबाटो अनरे पुगेका थिए। ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारका अनुसार त्यस ठाउँमा बाघ, भालु, स्याल, दुम्सी, बाँदर लगायतका जंगली जनावरहरु आउने गर्छन्।

दुई श्रीमती भएका भानबहादुर दुवैतिर आउनेजाने, बस्ने गर्थे। सोही मेसोमा उनी कान्छी श्रीमतीकोमा पुगेका थिए। अनरेमा उनीहरूको ढुंगा माटोको गाह्रो लगाएको सानो छाप्रो छ। छाप्रो पनि कोल्टिएर लड्न लागेको जस्तो देखिन्छ। उनीहरू अनरेमा त्यही छाप्रोमा बस्थे।

गत शनिबार साँझदेखि पानी पर्न थालेको थियो। भानबहादुरको छाप्रो वरपर ५-६ घर छन्। त्यो पनि केही दूरीको टाढामा। रातभर झमझम पानी परिरह्यो। बिहान उज्यालो हुँदा भानबहादुर आफ्नो घर नजिकैको मकैबारीमा मृत फेला परे। सर्ट र कट्टु लगाएका, मानबहादुर कोल्टो परेको अवस्थामा भेटिएका थिए। उनको टाउको र अनुहारमा गहिरो चोट लागेको थियो। जमिनमा रगत जमेर अख्रक्क भएको अवस्थामा उनको लाश फेला परेको थियो। ‘भानबहादुरको लास देखेपछि हामी उनको घरमा जान लाग्यौं। श्रीमती बीमा पनि घरमा मृत अवस्थामा भेटिइन्,’ त्यसबेलाको दुखद घटना सम्झन्छन् वडाध्यक्ष सुनार। भानबहादुरका जेठी श्रीमतीतर्फ १ छोरा छन्। उनी मजदुरी गर्न भारत पुगेका छन्। कान्छीतर्फका छोरा बुहारी र नाती नातिना छन्। उनीहरू ढोरपाटन बस्छन्। त्यसदिन दम्पत्तिमात्रै घरमा थिए।

प्रकाशित मिति: : 2019-08-14 20:41:31

प्रतिकृया दिनुहोस्