‘पहिलोपटक सांसद हुँदा आफ्नै नाम लेख्न पाँच मिनेट लाग्थ्यो’

नेकपाकी सचेतक शान्ता चौधरीले कुनै पनि बालबालिकालाई पढाईबाट बञ्चित गर्न नहुने बताएकी छिन् । 

संस्थागत विद्यालय संघ नेपाल (इसान)ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विद्यालय जानुपर्ने आठ वर्षकै उमेरमा कमलरी बनेर साहुका घरमा काम गर्नु परेको आफ्नो विगत विद्यार्थीलाई सुनाइन् । 

बाल्यकालमा चाहेर नभई गरिबीका कारण आफैं पढ्ने उमेरमा साहुका छोराछोरीलाई स्कुल पु¥याउनु परेको उनले बताइन् । 

‘पढ्न पाउनुलाई एउटा अवसरका रुपमा सदुपयोग गर्नुहोला,’ उनले भनिन, ‘सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरेको छ । अब कोही पनि पढाईबाट बञ्चित हुनुपर्दैन ।’

आफ्नो विगत सम्झिँदा अधिकांश समय भावुक बन्ने गरेको उल्लेख गर्दै उनले शिक्षाको महत्व आफुले राम्रोसँग बुझेको बताइन् । 

‘म पहिलोपटक सांसद हुँदा आफ्नो नाम लेख्न पाँच मिनेट लाग्थ्यो ,’ विगत सम्झँदै उनले भनिन, ‘शिक्षाविना जीवन अन्धकार हुन्छ, मैले दुवै आँखा भएर पनि अन्धो भएको महसुस गरेकी छु ।’ 

सांसद भएपछि पनि कक्षा–८ सम्म नियमित विद्यालय गएरै पढेको र यसवर्ष एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएको उनले सुनाइन् । ‘मलाई सानो हुँदा स्कुल जाने ठूलो रहर भए पनि साहुका भाँडा माझेर बस्नु प¥यो,’ उनले भनिन, ‘अहिले बुढेसकालमा भएपनि पढ्ने धोको पूरा गर्दैछु । पीएचडी गर्ने धोको छ ।’ 

प्रकाशित मिति: : 2019-08-13 16:07:06

प्रतिकृया दिनुहोस्