सिंहदरबारभित्र यस्तो बन्दैछ संघीय संसद् भवन

सरकारले संघीय संसदको भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । सिंहदरबारभित्रको पुतली बगैँचामा बन्ने भवनका लागि टेन्डर आह्वान भइसकेको छ ।  सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अहिले भवन निर्माणका लागि परेका टेन्डरको मुल्यांकन गरिरहेको जनाएको छ । विभागका विशेष भवन निर्माण इकाइका संयोजक प्रकिर्ण तुलाधरले भवन निर्माणको प्रक्रिया अघि बढिसकेको बताए । 

उनका अनुसार भवन निर्माणका लागि १७ वटा कम्पनीले टेन्डर हालेका छन् ।  अहिले ती कम्पनीका बारेमा मूल्यांकनको काम भइरहेको उनले बताए । संघीय संसद भवन निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गरेर तीन वर्षभित्र सम्पन्न गरिसक्ने विभागको लक्ष्य छ ।  विभागका अनुसार भवन निर्माणमा भ्याटबाहेक ७ अर्ब रुपैयाँ लाग्नेछ । आफनै भवन नहुँदा हाल संघीय संसद भवन भाडामा छ । 

वार्षिक करिब १५ करोड भाडा तिरेर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हाल संघीय संसद छ ।  गुरुयोजनाअनुसार मुख्य संसद् भवनको दायाँतिर तीन तलाको संसद सचिवालयको भवन बन्नेछ ।  राष्ट्रियसभा भवनको उत्तरतिर अतिविशिष्ट व्यक्तिहरुको कार्यालय भवन बनाइनेछ । यो भवन चार तलाको हुनेछ । यही भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको कार्यकक्ष र उपाध्यक्षको कार्यकक्ष बनाइनेछ । 

प्रकाशित मिति: : 2019-08-13 11:14:57

प्रतिकृया दिनुहोस्