यो कथा हो- भारतको कोठीमा बेचिएकी सुनिता दनुवारको। लाउलाउ खाउँखाउँ भन्ने उमेरमा सुनिता आफन्तबाट बेचिन विवश भइन्। सानोमा बेचिएकी सुनितालाई परिवारले संरक्षण दियो। तर, आमाबुवाको समीपमा पुगेर पनि उनी दोस्रो पल्ट दलालको फन्दामा परिन्।
बाबु-आमासँगै बसेका बेला सन् १९९६ मा दलालले उनलाई पहिले नसालु पदार्थ खुवाएर बेहास बनाए, यसपछि बम्बईको कोठीमा पुर्याए।
साँझको खाना उनले बाबु-आमासँग खाएकी थिइन। तर, आँखा खुल्दा उनी अध्यारो कोठीमा थिइन। करिब ५ महिना उनले बम्बईको नरकीय कोठीमा बिताउन बाध्य हुनुपर्यो। सुनिताका लागि कोठीको ५ महिना पाँच जुनी कटाएसरह भयो।
पाँच महिनापछि भारतको कोठीमा उमेर नपुगेका नाबालिका रहेको खबर डढेँलो सल्किएझै संसारभरि फैलियो। यसपछि उनले नयाँ जीवन पाइन। यो खबरले भारत सरकारको निन्द्रा उड्यो। महाराष्ट्र (मुम्बई) प्रहरीले त्यस्ता कोठीमा छापा हान्ने क्रममा २ सय बढी किशोरीसँगै सुनिताको पनि उद्दार गर्यो।
बेलुका आमाबुवासँगै खाना खाएकी सुनितालाई दलालले कसरी कोठी पुर्याए? उनलाई अहिले पनि याद छैन।
महाराष्ट्रका प्रहरीले उद्धार गरेपछि उनी नेपाल जान पाइने भयो भनेर दंग परेकी थिइन। तर, सुनिताको खुसी धेरै बेर टिक्न पाएन। पुनः दुःखमा परिणत भयो।
सुनितालगायत नेपाली किशोरी उद्धार गरिएको समाचार बाहिरिने वित्तिकै नेपालमा रडाको सुरु भयो। सरकारी तहबाटै कुरा उठ्यो–‘कोठीबाट उद्धार गरिएकी युवती नेपाल ल्याउनु हुँदैन।’
तर, निजी क्षेत्रका विभिन्न संघसंस्थाको चर्को दबाबपछि सुनितालगायत किशोरीलाई नेपाल ल्याउने निणर्य भयो। उनीहरूलाई कहाँ राख्ने भन्ने विषयमा कुनै टुंगो लागिसकेको थिएन।
उद्धार गरिएको लामो समय ‘सेल्टर’मा बसेकी सुनितालगायत अन्य किशोरीहरू नेपाल आउने त पक्का भयो तर उनीहरु देश प्रवेश गर्न नपाउँदै नराम्रो समाचारले स्थान पायो।
बिएल नेपाली सेवालाई विगत सुनाउँदै सुनिताले भनिन्, ‘एचआइभीको पोको नेपाल भित्रियो भन्दै समाचार आउने क्रम बढेपछि मन खिन्न भयो। नेपाल प्रवेश गर्दा क्यामेरा छल्न हामीले कुर्ता सुरुवालले मुख ढाकेका थियौं।’
यतिबेला डाक्टर रेणु भण्डारीले सुनितालगायत १२ जना दिदीबहिनीलाई ओरेक नेपाल भन्ने संस्थामा लगेकी थिइन। केही दिन उनीहरू त्यही बसेका थिए। ती दिन आफूले भोगेको कस्ट सम्झिदै उनले भनिन्, ‘नजिकै पशुपतिनाथको मन्दिर थियो। बस्दाबस्दा दिक्क लागेपछि हामी मन्दिर जान खोज्थ्यौ। तर, बाटोमा बसेकाहरू हामीलाई एचआइभीको पोको भन्दै जिस्काउँथे। हामी दिक्क मानेर रुँदै फर्किन्थ्यौं।’
ओरेकको सेल्टरमा बस्दै गरेका बेला स्वास्थ्य रिपोट पनि बाहिरियो। केहीलाई एचआइभी देखियो। अनी फेरि सुरु भयो, रुवावासी। सुनितालाई सुरुमा लागेको रहेछ, एचआइभी भएपछि जीवन बर्बाद हुन्छ। बाच्नुको कुनै तात्पर्य रहदैन। तर, उनीहरू सबैलाई डाक्टर रेणुले सम्झाइन्। उनले सबैलाई तालिम नै दिइन्। यसको असर सबैमा पर्याे।
‘वास्तवमा तालिम लिएपछि केही गर्ने जोस जाग्यो। शोकलाई शक्तिमा बदल्ने हिम्मत मिल्यो’, उनले भनिन्, ‘यही आँटले १२ जनाको सहयोग लिएर मैले शक्ति नामक संस्था खोल्ने निधो गरे।’
वास्तवमा सुनिताको पुनर्जन्म शक्ति समूह खोलेपछि भएको हो। उनले यही संस्थामार्फत आफू जस्ता पिडित महिलाको उद्दार मात्र गरिनन्, उनीहरूको गाँसबास तथा पुन:स्थापनाको काम पनि गरिन्।
राज्य निर्दयी हुन्छ भनेको त्यतिकै होइन। सुरुका दिन राज्यले उनलाई हेप्ने मात्र होइन, हत्तोत्साही बनाउने काम पनि गर्यो। तर, राज्यले जति उनलाई दबाउने प्रयास गथ्र्यो। उनी उत्तिकै बलियो भएर निस्किइन्।
यस क्रममा उनले करिब २ हजार बढी बेचिएका चेलीको उद्धार गरिन्। उनीहरूलाई शीपमुलक काममा पनि लगाइन। बाच्ने नयाँ आधार दिइन। उनको सत्कर्मको उच्च मूल्यांकन भयो। अन्तर्राष्ट्रिय संघसंस्थाले विभिन्न पुरस्कारबाट सम्मानित पनि गर्यो। उनले ४ वटा त अन्तर्राष्ट्रिय अवार्ड नै जितिसकेकी छिन्। उनी सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा ‘हिरो’ अवार्डबाट सम्मानित भएकी थिइन।
हाल उनी आफ्नै नाममा खोलिएको ‘सुनिता फाउन्डेशन’ मार्फत समाजसेवामा सक्रिय छिन्। उनको दिनचर्या आफ्नो संस्थालाई अझै कसरी प्रभावकारी बनाउने भन्ने सोचमा बित्छ। उनी मानव बेचबिखनविरूद्धको अभियन्ता नै हुन्। विगत २४ वर्षदेखि यही कार्यमा क्रियाशील सुनिता मानव बेचबिखनविरूद्धको ‘आइकोनिक फिगर’ पनि हुन्।
बेचबिखनमा रहेका बालबालिकाको उद्दार गर्न पाउँदा उनलाई खुशी लाग्छ। बिएल नेपाली सेवासँग उनले भनिन्, ‘मैले जस्तो पिडा कसैले भोग्नु नपरोस्।’