हुलाक सेवा अब प्राधिकरणको अवधारणामा

तस्बिरः नेपाल न्यूज

सूचना प्रविधिको विकासँगै आकर्षण घट्दै गएपछि हुलाक सेवा विभागले आफूलाई समयानुकूल बनाउन हुलाक सेवा प्राधिकरणको अवधारणा अघि सारेको छ।

‘अबका दिनमा हुलाक सेवालाई सर्वसाधारणको चाहनाको सेवा बनाउन प्राधिकरण निर्माण गर्छौं,’ गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत वेदप्रसाद भण्डारीले भने, ‘प्राधिकरण निर्माणपछि हुलाकलाई मुलधारमा ल्याउन योजना, संरचना, संगठन, जनशक्ति र ऐननियम बनाई अघि बढिनेछ।

बिरामी भएको हुलाकलाई प्राधिकरणले नयाँ रक्तसञ्चार गर्ने उनको विश्वास छ।

कुनैबेला हुलाक सेवा सर्वसाधारणको मन मस्तिष्कमा हुन्थ्यो। सूचना आदानप्रदानको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबरको आशा गर्थे सर्वसाधारण।

तर सूचना र प्रविधिको विकाससँगै यसको आकर्षण घट्दै गयो। यद्यपि पूर्ण रुपमा यसको उपयोगिता भने घटेको छैन, पार्सललगायतका सामग्री अझै पनि हुलाकमै भर पर्छन्। विश्वमै यस्तो छ।

पहिले चिठीपत्रमात्रै बोक्ने हुलाकले अहिले बहुमूल्य पार्सल, लत्ताकपडा, घडी, मोबाईल, ल्यापटप, ह्याण्डीक्राफ्ट र अनलाईन सपिङका सामान बोक्न थालेको छ।

‘प्रविधि र समयको मागअनुसार चल्न र परिमार्जन गर्न नसक्दा हुलाक सेवाप्रतिको आकर्षण घटेको हो,’ प्रमुख हुलाक अधिकृत भण्डारीले भने, ‘विश्वमा हुलाक सेवाले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकताअनुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो।’

१९३५ सालबाट ‘हुलाक घर’ को नामबाट आफ्नो सेवा सुरु गरेको हुलाक दुई दशक अघिसम्म सबै जनताको सम्पर्क माध्यम थियो। नेपालमा विभिन्न चुनौतीबीच काम गर्नु परेकाले सेवा प्रभावकारी बनाउन नसकेको प्रमुख भण्डारी बताउछन्। यद्यपि हुलाकको पार्सल तथा व्यावसायिक सेवामा आकर्षण बढेको भण्डारी दाबी गर्छन्।

‘चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ। व्यावसायिक सेवा दिने हो भने अझै हुलाक सेवा माथि उठी यसको प्रभावकारिता रहिरहन्छ, अब त्यसको विकल्प छैन,’ उनले भने।

गोश्वारा हुलाकका अनुसार कर्मचारीको दरबन्दी रिक्त हुनु, प्रविधिलाई आत्मसाथ गर्न नसक्नु, सेवालाई रुपान्तरण गर्न नसक्नु, बजेट अभाव हुनु, र हुलाक कार्यालयलाई हेर्ने सर्वसाधारणको दृष्टिकोण नै नकारात्मक हुँदै जानु नै प्रमुख समस्या बनेको छ।

प्रकाशित मिति: : 2019-08-13 07:09:58

प्रतिकृया दिनुहोस्