मन्त्री रिझाउन दुई हजार डलर खर्चेर गृहजिल्लामा परीक्षण उडान

काठमाडौं, साउन २७ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रिझाउन उनको गृह जिल्ला ताप्लेजुङमा परीक्षण उडान गराएका छन्।

निगममा प्रयाप्त पाइलट छैनन्। अहिले भएका जहाज पाइलट नहुँदा ग्राउन्डेड छन्। निगमले नियमित उडान भरिरहेका स्थानमा पनि जहाज उडाउन समस्या हुँदै आएको छ।

तर, अध्यक्ष खरेलले गत शनिबार मात्रै निगमको वाई–१२ विमानमार्फत ताप्लेजुङमा परीक्षण उडान गरेका छन्। जबकी उनले अध्यक्ष भएर आएको ११ महिनामा गरेका परीक्षण उडानमा कहिँ पनि नियमित उडान हुन सकेको छैन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई पनि रिझाउन उनले यसरी नै परीक्षण उडान गरेका थिए। त्यतिबेला परीक्षण उडान गरेका ठाउँमा पनि अझै एउटा पनि नियमित उडान हुन सकेको छैन। नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको रुपमा खरेल आएसँगै दुर्गम क्षेत्रमा धमाधम परीक्षण उडान गराएका थिए। गत भदौ ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा कार्यकारी अध्यक्ष बनेका खरेलले आधा दर्जन विमानस्थलमा नियमित उडान गर्ने भन्दै परीक्षण उडान सुरू गरेका थिए।

तर, खरेलको कार्यकाल ११ महिना सकिन लाग्दा परीक्षण उडान गरेका कुनै पनि विमानस्थलमा नियमित उडान भने सुरू गर्न सकेनन्। निगमसँग चिनियाँ ६ वटा र ट्वीनटर तीन वटा गरेर आन्तरिक उडानका लागि नौ जहाज छन्। तर, एउटा ट्वीनटर र एउटा चिनियाँ एमए ६० जहाजबाहेक अन्य जहाज सबै ग्राउन्डेड हुदैं आएका छन्। खरेल आएसँगै नौ वटै जहाजले देशभरका विमानस्थल उडाउने घोषणा गरेर परीक्षण उडान सरू गरे पनि अहिलेसम्म नियमित उडानमै हुन सकेको छैन।

खरेलले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई देखाउनका लागि परीक्षण उडान सुरू गरेका थिए।

यसअघि गत असोजमा पनि खरेलले लुक्ला, फाप्लु, सिमिकोट, रारा, डोल्पालगायतका गन्तव्यमा वाई–१२ विमानमार्फत परीक्षण उडान गराएका थिए। तर, ती गन्तव्यमा पछि नियमित उडान गर्न नसेकको निगमले फेरि नयाँ विमानस्थलमा परीक्षण उडान सुरू गरेको हो।

प्रकाशित मिति: : 2019-08-12 16:44:53

प्रतिकृया दिनुहोस्