निर्वाचनबिनै यस्तो बन्दैछ कांग्रेसको अन्तरिम संरचना

काठमाडौं । पार्टीको विधानले संगठनलाई संघीय संरचनाअनुसार विस्तार गर्दा निर्वाचन प्रक्रिया अपनाउनुपर्ने व्यवस्था गरे पनि नेपाली कांग्रेसले सहमतिमै अन्तरिम संरचनाहरु गठन गर्ने निर्णय गरेको छ । कांग्रेसको विधानमा अन्तरिम संरचना गठन निर्वाचन प्रक्रियाबाट गरिने व्यवस्था भए पनि नेताहरुका बीचमा सहमतिकै आधारमा अन्तरिम संचरना गठन गर्ने सहमति जुटेको हो । 

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संरचना गठनका लागि तयार पारिएको नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ सर्वसम्मतिले पारित गर्दै अन्तरिम संरचना गठनका लागि मार्गप्रशस्त गरेको थियो । विधानमा रहेको व्यवस्थाविपरीत केन्द्रीय कार्यसमिति बैठकबाट आइतबार गरिएको उक्त निर्णयलाई कांग्रेसले आगामी महासमिति अथवा महाधिवेशनबाट अनुमोदन गराउने बताएको छ । 

“नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । यस निर्णयलाई पार्टीको आगामी महासमिति तथा महाधिवेशनमा पेश गरी अनुमोदन गराइने छ,” बैठकपछि पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्ति भनिएको छ । 

महासमिति बैठकबाट पारित भएर गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको कांग्रेस विधानमा टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहमा पार्टी संरचनाको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: : 2019-08-12 16:37:41

प्रतिकृया दिनुहोस्