श्रीमती भारतमा कोठी चलाउने, श्रीमान् नेपालबाट युवती पुर्‍याउने

भारतको कोलकातामा कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङ्तान भन्ने अजय लामा र उनका सहयोगी राजु तामाङलाई  महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार पक्राउ गरेको हो।

नुवाकोटकी २० वर्षीया युवती लिएर भारत हिँडेका दुवैलाई विशेष सूचनाका आधारमा परिसर टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो। उद्धार गरिएकी युवतीको बयानका आधारमा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौंबाट काँकडभिट्टा चल्ने बा ४ ख ८०१ नम्बरको हायस माइक्रो बसमा रहेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे। 

‘विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं,’ परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘युवतीलाई राम्रो जागिरको प्रलोभन देखाएर भारत लगिँदै थियो।’ उनका अनुसार पक्राउ परेका अजयको मोबाइलबाट समेत उनी चेलिबेटी बेचबिखनमा सक्रिय रहेको खुलासा भएको छ।

भारतमा आफूले धेरै युवतीलाई लगेर राम्रो जागिर दिएको भन्दै नुवाकाेटकी ती युवतीलाई उनले फकाएका थिए। प्रहरीले उद्धार गरेपछि मात्र ती युवतीले आफू बेचिन भारत लाँदै गरिएकाे चाल पाएकी थिइन्।

 

 

प्रकाशित मिति: : 2019-08-12 09:55:15

प्रतिकृया दिनुहोस्