नेपाल जलस्रोतमा दोस्रो धनी देश होइन ?

काठमाडौं । नेपालमा दाबी गरिँदै आएको एउटा विषय हो– नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी राष्ट्र हो । विद्यालय तहदेखि नै 'नेपाल जलस्रोतका हिसाबमा दोस्रो ठूलो राष्ट्र' भनेर सिकाइन्छ । अहिले पनि अधिकांश पुस्तकहरुमा नेपाल जलस्रोतमा धनी राष्ट्र भनेर उल्लेख गरिएको पाइन्छ । यस विषयमा धेरैलाई सोध्यौं भने पनि स्वभाविक जवाफ आउँछ - जलस्रोतमा दोस्रो ठूलो राष्ट्र नेपाल । तर, अब यो जवाफ गलत हुनेछ र 'नेपाल जलस्रोतको दोस्रो ठूलो राष्ट्र' भन्‍ने वाक्यांश एकादेशको कथाजस्तै बनेको छ ।

करिब १८ घण्टासम्म लोडसेडिङ हुँदा राजनीतिज्ञको आलोचना गर्नै निकै बढी प्रयोग गरिएको वाक्यांश हो - 'नेपाल जलस्रोतको दोस्रो ठूलो धनी देश तर राजनीतिज्ञ तथा राजनीति खिचातानीका कारण लोडिसेडिङ बढिरहेको छ ।'  यो वाक्यांशमा कत्तिको सत्यता थियो भन्‍ने क्रसचेकसमेत गरिएन । एकोहोरो रटानले नीति र निर्णयहरु प्रभावित भएको हेक्कासमेत गरिएन । जनता, नागरिक समाज, बुद्धिजीवी तथा विज्ञहरुलेसमेत यस विषयमा वेवास्ता गर्दै राजनीतिज्ञ र राजनीतिक प्रणालीलाई नै दोषी बनाइरह्यो र लोडसेडिङ अन्त्य हुन नसकेको दोष थोपरिरह्यौं ।

लोडसेडिङ अन्त्य नहुनुमा जलस्रोतमात्र नभएर अन्य विषयहरु पनि कारक हुन्छन् । जसको चर्चा यहाँ गरिएको छैन । तर, यहाँ नेपाल जलस्रोतको दोस्रो धनी मुलुक भनेर फैलाइएको भ्रमका विषयमा चर्चा गरिएको छ । 

सन् २०११ मा गरिएको एक अध्ययनअनुसार जलस्रोतका हिसाबमा कुन राष्ट्र धनी भनेर सूची सार्वजनिक गरिएको छ ।  जसअनुसार ब्राजिल पहिलो नम्बरमा छ भने दोस्रो भनिएको नेपाल ४३ औं नम्बरमा छ । दोस्रो नम्बरमा रुस छ भने तेस्रो नम्बरमा अमेरिका रहेको छ । 


नेपाल विश्वको एसिया र दक्षिण एसियामासमेत जलस्रोतको हिसाबमा चीन र भारतभन्दा पछाडि छ । विश्‍वमा जलस्रोतका हिसाबमा शीर्ष १५ मुलुक अन्तर्गत पहिलो नम्बरमा ब्राजील, दोस्रोमा रुस र क्रमश: अमेरिका, क्यानडा, चीन, कोलम्बिया, युरोपियन युनियन, इन्डोनेसीया, पेरु, भारत, कंगो, भेनेजुएला, बंगलादेश, म्यानमार र नाइजेरिया छन् ।

(https://en.wikipedia.org/wiki/List_of_countries_by_total_renewable_water_resources)

तर, नेपालकै पहिलो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सन् २०१५ मा प्रस्तुत गरेको एक प्रतिवेदनमा (http://tribhuvan-university.edu.np/wp-content/uploads/2014/notice/NEWS_Network.pdf)समेत नेपालको परिचय दिनेक्रममा जलस्रोतका हिसाबमा नेपाल विश्वकै धनी राष्ट्र भएको उल्लेख गरिएको छ । त्रिविले समेत यस्तो पुरानो तथ्यांकलाई नयाँ बनाएर प्रस्तुत गर्दा मानिसमा थप भ्रम र संशय उत्पन्‍न हुन्छ 

जलस्रोतविद् हरी शर्माका अनुसार पहिलेदेखि नै अध्ययन अनुसन्धान नगरेरै दोस्रो धनी देश भनिएको हो । उनले भने, "विना अध्ययन दोस्रो भनेर हुँदैन । वास्तविक तथ्य र अनुसन्धान गर्न आवश्यक छ । तर, नेपाल दोस्रो भने होइन । त्यो कहानी बनाएर हामीले रटान लगाएको पाइयो । यसलाई तथ्यका आधारमा पाठ्यक्रमहरुमा समेत सुधार्नुपर्छ ।" 

नास्टका सदस्य तथा जलस्रोतविद् डा. लक्ष्मीप्रसाद देवकोटाका अनुसार विश्वमा आन्तरिक र कुल नवीकरणीय जलस्रोतमा ब्राजील सबभन्दा धनी देखिन्छ भने नेपालको स्थान क्रमशः ३६ औं र ४३ औं मा पर्दछ । तर प्रतिवर्ग किमी क्षेत्रफलमा उपलब्ध पानीलाई हेर्दा भने आन्तरिक रुपमा उपलब्ध जलस्रोतमा नेपालको स्थान २२ औं र कुल जलस्रोतमा ३२ औं देखिन्छ । यसबाट नेपाल जलस्रोतमा धनी देश भए पनि कुल होस् वा आन्तरिक, प्रतिव्यक्ति प्रतिवर्ष उपलब्ध हुने जलस्रोत होस् वा प्रति इकाई क्षेत्रफलको आधारमा निकालिएको होस्, नेपाल जलस्रोतमा भन्दै आइएको विश्वको दोस्रो धनी देश भने होइन भन्ने स्पष्ट हुन्छ । 

प्रकाशित मिति: : 2019-08-12 09:35:11

प्रतिकृया दिनुहोस्