मुलुकको उपलब्धीलाई भत्काउन खोज्ने प्रयास भइरहेको छ– प्रधानमन्त्री (भिडियो सहित)

तस्बिरः बिएल

प्रधानमन्त्री केपी ओलीले मुलुकको उपलब्धीलाई भत्काउन खोज्ने प्रयास भइरहेको आरोप लगाएका छन। सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वले मुलुकको विकास भन्दा उपलब्धीलाई भत्काउन खोज्ने प्रयास गरिरहेको भएपनि त्यसमा अलमलिन नहुने बताए। उनले अहिले सबैको ध्यान मुलुकको समृद्धि र विकासमा हुनुपर्ने धारणा राखे। देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने उनको भनाई छ। उनले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरिएको थियो । ‘विज्ञान, प्रविधि र नवप्रवर्तन  सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित बुधबार सातौं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो। कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरियो। नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ साल मङ्सिर ८ गते हरेक वर्ष असोज १ का दिन विज्ञान दिवस मनाउने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: : 2019-09-18 15:50:23

प्रतिकृया दिनुहोस्