अपराधमा बर्दीधारी : भगौडादेखि बहालवालासम्म

नेपाली सेनाका मेजर अजितप्रताप सिंह शनिबार साँझ लागूऔषध कारोबारको आरोपमा इटहरीबाट पक्राउ परे । पूर्वी पृतना मुख्यालयमा कार्यरत् सिंह डेढ ग्राम ब्राउन सुगरको ४ वटा पोकासहित समातिएका थिए ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले अहिले उनीमाथि अनुसन्धान गरिरहेको छ । एक अधिकृतका अनुसार प्रारम्भिक अनुसन्धानले मेजर सिंहले प्रति पोका एक हजार रुपैयाँमा लागूऔषध विक्री गर्ने गरेको देखिएको छ ।

सिंह पक्राउ पर्नु एक दिनअघि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय, दार्चुलाले सशस्त्र प्रहरीका जवान दीपकसिंह बडाललाई बाघको छालासहित पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक गोविन्द कठायतका अनुसार प्रहरी चौकी ब्रह्मदेवको नियमित गस्तीमा रहेको टोलीले बडाललाई ३९ इञ्च लम्बाइ र १० इञ्च चौडाइ भएको छालासहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी दार्चुलाकै सशस्त्र प्रहरी सुरक्षा गुल्म ५० नं. मा कार्यरत् थिए ।

त्यसअघि काभ्रेका युवा विष्णु खड्कालाई ११ साउनमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले भारतबाट उद्दार गरेर ल्याएसँगै मिर्गौला तस्करीजस्तो गम्भीर अपराधमा नेपाल प्रहरीका अधिकृतको संलग्नता खुलेको थियो ।

महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलिया र पूर्वहवल्दार थनितसिंह गुरुङविरुद्ध अनुसन्धान भइरहेको छ ।

महाराजगञ्ज प्रहरीले दुवैविरुद्ध मानव बेचबिखन तथा आसोर–पसार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेको छ । साउन महिनामा मात्र आपराधिक घटनामा सुरक्षा अधिकृत संलग्न भएका घटना हुन्, यी ।

राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका अधिकृत आफैं अपराधमा संलग्न हुने क्रम बढ्दो छ । यो समस्या राज्यका चार वटै सुरक्षा निकायमा देखिएको छ ।

प्रकाशित मिति: : 2019-08-11 19:56:58

प्रतिकृया दिनुहोस्