कस्मिरको ‘कठोर–विलय’ र नेपालको चासो

तावेदारी र हवल्दारीमा होइन, वास्तविक असंलग्न परराष्ट्र नीतिअनुरूप कारबाही अघि बढाउन सरकारले ढिलो गर्नुहुँदैन

पृष्ठभूमि
मेरा मित्र शंकर्षण ठाकुर (जसले भारतीय सेनाले श्रीलंकामा हस्तक्षेप गर्दा र भारत–पाकिस्तानबीचको कार्गिल युद्धको रिपोर्टिङ गरेका थिए) को ८ जुलाई २०१९ को दी टेलिग्राफमा ‘डायरी अफ श्रीनगर लकडाउन’ छापिएको छ । उनले यो डायरी दिल्ली अवतरण गरेपछि लेखेको जनाएका छन् । कस्मिर अरू कुराले भन्दा पनि असूचित हुने कुराले भयावह देखिएको छ । जस्तो, ज्ञानेन्द्र शाहको शासनकालको अन्तिम परिच्छेद अर्थात् माघ १९ पछि नेपालमा घटाइएको थियो । अचानक घरको टेलिफोनको लाइन काटिएपछि, अचानक इन्टरनेट कनेक्सन टुटेपछि, अचानक टेलिभिजनमा समाचार दिने च्यानल काटिएपछि, अचानक मुलुक र मुलुकबाहिरका घटना तथा विचार बोकेर बिहानै देखापर्ने अखबार बन्द भएपछि आजको दुनियाँमा ‘के नै’ बाँकी रहन्छ सचेत र सभ्य मानिसका लागि ? कस्मिरको राजधानी श्रीनगर मात्र होइन, सारा कस्मिर ४ अगस्त मध्यरातदेखि मोदी निर्मित ‘लक–डाउन’बाट ग्रसित छ । 

जुलाईको अन्तिम हप्तामा भारतीय अखबार र प्रमुख टिभी च्यानलमा जैस ए–मोहम्मदले अमरनाथ दर्शनका लागि निस्कने तीर्थयात्रीमाथि आक्रमण गर्दै छ भन्ने हल्ला फिँजाइयो । ‘ल एन्ड अर्डर’ कायम गर्ने भन्दै सात लाख सुरक्षा फौज तैनाथ रहेको कस्मिरमा पुनः २५ जुलाईमै १० हजार प्यारामिलिटरी र २८ हजार थप सैन्य टुकडी कस्मिर भित्र्याइयो । खानेपानी र रसदपानीलगायत नाका–नाकामा जोहो गरियो । त्यसपछि सुरक्षा व्यवस्थामा कठिनाइ हुन पुगेको भन्दै अमरनाथ यात्रामा आएका तीर्थयात्रीलाई सी–१७ एयरक्राफ्ट, जो प्यारामिलिटरीका टुकुडी लिएर आएका थिए, तिनमा फिर्ता पठाइयो । त्यसपछि पालो आयो, शिक्षक–विद्यार्थीको । विद्यालयदेखि विश्वविद्यालयसम्म बन्द गराइए । होस्टेल खाली गराएर विद्यार्थीलाई आ–आफ्नो घर जान आदेश जारी गरियो । पर्यटकलाई अविलम्ब जम्मु–कस्मिर छाड्न आदेश दिइयो (आथर जिया, दिएर इज रिजन टु फिअर फर दी सेफ्टी अफ एभ्री कस्मिरी इन इन्डिया, अलजजिरा, ६ अगस्ट, २०१९) । यी सबै घटना नियालिरहेका जम्मु–कस्मिरका राजनीतिज्ञले ४ अगस्टमा सर्वदलीय बैठक आयोजना गरेर शंका जाहेर गरे र सरकारबाटै होसियार रहन कार्यकर्ता तथा आमजनतामा अपिल गरे । तर, त्यही मध्यरात बिजेपीइतरका राजनीतिक दलका नेता–कार्यकर्तालाई कि त घरमा नजरबन्द गरियो कि जेल पुर्‍याइयो । यो सबै पूर्वतयारी ५ अगस्टमा संघीय सरकारका तर्फबाट संविधानमा उल्लेख गरिएको धारा ३७० र त्यससँग सम्बन्धित उपधारा ‘३५ ए’को खारेजीपछि उत्पन्न हुन सक्ने राजनीतिक तुफानको सामना गर्न अपनाइएको हत्कन्डा थियो । भनिरहनुपरेन, केन्द्रीय शासनको कस्मिरमाथि पकड बलियो बनाउनका लागि जैस ए–मोहम्मदको आक्रमणको हल्ला मिडियामार्फत फैलाइएको थियो । 

धारा–३७० र उपधारा–३५ ए को अर्थ
मोदी सरकारका गृहमन्त्री अमित शाहले ५ अगस्टमा भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा संकल्प प्रस्तावसँगै नयाँ विधेयक प्रस्तुत गर्दै जम्मु–कस्मिरको संवैधानिक र न्यायिक ‘हैसियत’ बदलिएको बताए । ती धारा तथा उपधारामा दुई सैद्धान्तिक अंश रहेका छन् । पहिलो, खारेज गरिएको धारा ३७० र उपधारा ३५ ए ले कस्मिरको राज्य सञ्चालन विधि र भारतीय संघसँगको उसको सम्बन्ध जाहेर गर्छ । दोस्रो, अब उप्रान्त जम्मु र कस्मिरलाई दुई क्षेत्रमा विभाजन गरिएको छ र यी दुवै केन्द्र शासित हुनेछन् । 

प्रकाशित मिति: : 2019-08-11 18:25:36

प्रतिकृया दिनुहोस्