देउतालाई नै चल्न छाडे सुका, मोहोर र डबल

एकापट्टि गाई र अर्कोपट्टि त्रिशुल अंकित पाँच पैसाको सिक्का।

हिजोअस्तिको काठमाडौं

पार्किङबाट गाडी निकाल्दा मैले सोधेँ, 'कति भयो भाइ?'

'एक घन्टा भएछ, २५ रुपैयाँ।'

मैले वालेटबाट बीस रूपैयाँको नोट झिकेँ। पाँच रूपैयाँको नोट थिएन। गाडीमा भएका चानचुन एक-दुईका डबल र अरू सिक्काहरू गन्न थालेँ।

उताबाट खस्रो स्वर आयो, 'ह्या बीस रुपैयाँ मात्र दिनुस्, खुद्रा चाहिएन।'

उसले त्यो बीसको नोट मेरो हातैबाट खोसेर लियो र भन्यो, 'जानुस्।'

पैसा बचेकोमा खुसी हुनुपर्ने मेरो मन ती डबलका सिक्काप्रति हेला सुनेर दुःखी भयो। दया जाग्यो ती डबलप्रति। कुनै समय यिनै डबलको कत्ति रवाफ थियो! मेरो स्मरणमा ती दिनहरू घुम्न थाले।

म राणाकालीन वा 'ब्लाक-एन्ड-ह्वाइट' जमानाको कुरा गर्दै छैन। म कुरा गर्दैछु २०३३-३४ देखि २०४६-४८ बीचको, जब मेरो बाल्यकाल र वयस्ककाल बिते।

मेरो प्रारम्भिक स्मरणमा एक रुपैयाँको डबल प्रचलित नै थिएन। एकको त नोट हुन्थ्यो- अगाडि राजाको फोटो र पछाडि जोडी हरिणको चित्र भएको नीलो रङको नोट। एकपछि पाँचको नोट अनि १०, ५०, १००, ५०० र १००० का नोट थिए। पछि २, २० र २५ का नोट थपिए। एक, दुई र २५ का नोट अचेल विरलै देखिन्छन् ।

नोटलाई रङ र त्यसमा छापिएको जनावरको चित्रबाट पनि चिन्ने र चिनाउने गरिन्थ्यो। ‘हरियो गैंडा’ भन्नेबित्तिकै सयको अन्दाज भैहाल्थ्यो। ‘बाघ’ भनेपछि पाँच सय र ‘हात्ती’ भनेपछि हजारको नोट दिमागमा आउँथ्यो।

जनावरको आकृति र नोटको रकम यति प्रचलित थियो, दुईको नोट निष्कासन हुँदाको एउटा किस्सा सुनाउँछु।

२०३८–४० सालतिर हुनुपर्छ। दसैं बेला थियो। दुई रुपैयाँको नोट भर्खर छापिएर निष्कासन भएको थियो। त्यति व्यापक चल्तीमा थिएन। त्यो नोटको पछाडि चितुवाको चित्र थियो।

दसैंमा खर्च जोहो गर्न काठमाडौंमा गाउँबाट खसी बेच्न आउनेहरू खुब भेटिन्थे। खसीको मोल ठूलो-सानो हेरेर हजारदेखि पन्ध्र सय रूपैयाँ पर्थ्यो। त्यतिमा बाह्र-पन्ध्र धार्नीको खसी मज्जाले आउँथ्यो। एक जना फटाहाले गाउँबाट आएको सोझो मान्छेसँग दुइटा खसीको २५ सयमा मोल छिनेछ। अनि दुईको नोट निकालेर ‘यो हेर बाघ’ भन्दै झुक्याउन खोजेछ।

चितुवाको चित्रलाई बाघ भनेर झुक्किनु ठुलो कुरो भएन। गाउँमा चितुवालाई नै बाघ भन्ने चलन छँदैछ। उसले 'नोट त सानो रहेछ नि' भनेछ। जवाफमा त्यो फटाहाले भनेछ, 'यो नयाँ नोट हो लाटा।'

बिचराले सजिलै पत्याएछ- कालो अक्षर भैंसी बराबर।

अंक नचिन्ने त्यो सोझो गाउँलेले पाँचवटा ‘बाघ’ को सट्टा एउटा खसी दिएछ। पछि पसलमा किनमेल गर्न जाँदा पो छाँगाबाट खसेझैं भएछ। ऊ त्यहीँ खसी बजारमा डाँको छाडेर रुँदैथ्यो भन्ने किस्सा निकै प्रचलित थियो।

एक रूपैयाँको डबल प्रचलनमा आएको ०४० सालतिर जस्तो लाग्छ। त्यसअघि पनि टक्सार विभागले एकको डबल निकालेको थियो, तर आमप्रचलनमा पुग्ने संख्यामा थिएन होला। एकको डबल आउनुअघि सिक्का भनेकै मोहोर (५० पैसा), सुका (२५ पैसा), १० पैसा र ५ पैसा थियो। दुई र एक पैसा पनि थिए, तर मैले ती सिक्का बजारमा प्रयोग गरिनँ। आमाले पूजाको सिदामा लालीगुराँस अंकित एक पैसा र डाँफे अंकित दुई पैसा चढाएको मात्र याद छ।

प्रकाशित मिति: : 2019-08-11 09:19:42

प्रतिकृया दिनुहोस्