बेनी–जोमसोम–कोरला सडक ट्र्याक खोल्ने काम अन्तिम चरणमा

ठमाडौँ,   साउन २६ गते । उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । एउटै मार्गले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको निर्माणले त्रिदेशीय व्यापार प्रवद्र्धन हुनुका साथै नेपालको व्यावसायिक साझेदारका विकल्प पनि प्रशस्त बनाउने छन् । 
बेनी–कोरलाको १८६ किलोमिटर लामो सडकखण्डअन्र्तगत जोमसोम–कोरला खण्डको १४ किलोमिटर ट्र्याक खोल्ने कार्य मात्रै बाँकी रहेको छ । बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजनाका अनुसार जोमसोम–कोरला ११० किलोमिटर खण्डको तीन स्थान गरी जम्मा करिब १४ किलोमिटर ट्र्याक खोल्ने काम मात्र बाँकी छ । यो काम आगामी असोजभित्र सम्पन्न हुने बताइएको छ । बेनी–जोमसोम खण्डको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ । 
आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले सबैभन्दा जोखिम र ठाडो भीर रहेको तीनै स्थानमा ट्रयाक खोल्ने कार्य तीव्र गरिएको बताउनुभयो । घ्याकर–समरसम्मको सात किलोमिटर, झोखोला क्षेत्रमा दुई किलोमिटर र घमी–चराङ क्षेत्रको पाँच किलोमिटर गरी १४ किलोमिटरको ठाडो भीर चिर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको इन्जिनियर यादवले खुलाउनुभयो । 
भौगोलिक विकटता एवं प्रतिकूल मौसमले उक्त खण्डमा वर्षदिनमा पाँच महिना मात्रै सडक निर्माण कार्य सक्रियतापूर्वक हुन्छ । जोमसोम–कोरला क्षेत्रमा मौसम अनुकूल हुँदा बेनी–जोमसोम खण्डको विभिन्न स्थानमा पहिरो गएर निर्माण सामग्री ढुवानीमा समस्या हुँदै आएको छ । 
उक्त खण्डमा सडक स्तरोन्नतिका कार्य पनि धमाधम हुँदै छ । ११० किलोमिटर सडकलाई सातवटा प्याकेजमा विभाजन गरी स्तरोन्नति कार्य गरिँदै छ । आयोजनाका प्रमुख इन्जिनियर मुकुन्द अधिकारी स्तरोन्नतिको गुणस्तर उत्कृष्ट रहेको दाबी गर्नुहुन्छ । 
बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजना कार्यान्वयन भएको दस वर्ष बितेको छ । सुरुमा २०७६÷७७ मा सम्पन्न हुने लक्ष्य लिइएको थियो तर पछि संशोधन गरी २०७८÷७९ सम्म सक्ने लक्ष्य लिइएको छ । लक्ष्यबमोजिम बेनी–जोमसोम ७६ किलोमिटर समयमै सम्पन्न हुने देखिए पनि जोमसोम–कोरला खण्ड कालोपत्रे हुन अझै केही वर्ष लाग्ने आयोजनाले जनाएको छ । 
१८६ किलोमिटर सडकखण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ तर हालसम्म दुईवटा पुल मात्रै सम्पन्न भएको छ । १३ वटा पुलको डिजाइन गरिँदै छ । १९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको प्रमुख इन्जिनियर अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: : 2019-08-11 07:09:57

प्रतिकृया दिनुहोस्