सरकारको ऋण १० खर्ब नाघ्यो, एक वर्षमै थपियो १४ प्रतिशत

 देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो ।

यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको छ । आव २०७५/७६ मा मात्र सरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा साँवा र ब्याज गरी ७५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

तथ्यांकअनुसार एकै वर्ष बाह्य दाताबाट लिएको ऋण ६३ अर्ब ९ करोड रुपैयाँले वृद्धि भयो भने आन्तरिक ऋण ६२ अर्ब ६ करोडले बढ्यो । आव २०७४/७५ मा सरकारको ऋण ९ खर्ब १६ अर्ब ५१ करोड रहेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३०.०६ प्रतिशत पुगेको छ । यसमा बाह्य ऋणको हिस्सा १६.९८ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३.८० प्रतिशत रहेको छ । आव २०७४/७५ मा जीडीपीको ३०.३२ प्रतिशत सरकारको कूल ऋण थियो ।

 

प्रकाशित मिति: : 2019-08-09 16:47:17

प्रतिकृया दिनुहोस्