काठमाडौंको गोली कनेक्सनमा लिखु गाउँपालिको राजनीति : 'अध्यक्षसँग रकम असुल्न वडा अध्यक्षको योजना!'

तस्बिरः पहिलो पोष्ट

काठमाडौं : लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई बारम्बार पैसा माग गर्दै धम्की आइरहन्थ्यो। पछिल्लो पटक त २ करोड रुपैयाँ चाहियो भन्दै धम्की दिएका थिए। नदिए छोरीदेखि परिवारका अरु सबैलाई मार्न सुरु गर्छु भन्ने धम्की दोहोरिएपछि खड्का निक्कै आत्तिए।

'मार्छु नै भनेपछि बाध्य भएर प्रहरीकहाँ पुग्नै पर्‍यो,' खड्काले पहिलोपोस्टसँग भने, 'एकदमै धम्क्याएपछिमात्र प्रहरीकहाँ पुगेँ।'

लामो समयदेखि तनावमा रहेका खड्का अहिले काठमाडौंमा नै छन्।

संयोग नै हो, उनलाई धम्की दिने व्यक्ति आजै प्रहरीको गोलीको सिकार भएका छन्। धम्की दिने दुई जना घाइते अवस्थामा प्रहरीको नियन्त्रणमा छन्। उनीहरुको खुट्टामा गोली लागेको छ।

 

'म प्रहरीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। मेरो उजुरीमा प्रहरीले उनीहरुलाई कारबाही गर्न सफल भयो,' उनले भने।

आज मध्यान्ह स्वयम्भू बिजेश्वरीमा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको थियो। लुटेरा समूहविरुद्ध परिचालित प्रहरीले अमृत तामाङ र लोप्साङ भनिने मिलन तामाङलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी केदार ढकालले पहिलोपोस्टलाई जानकारी दिए।

'दुवै जना रामेछाप घर भएका हुन्,' ढकालले भने, 'उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका थिए।'

प्रकाशित मिति: : 2019-08-09 14:47:55

प्रतिकृया दिनुहोस्